दिपक के श्रेष्ठः गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले प्रेस स्वतन्त्रतामाथि सरकारले कहिल्यै हस्तक्षेप नगर्ने र गर्न पनि नहुने अभिव्यक्ति दिएका छन् ।
प्रदेश सरकारको सहयोगमा नेपाल पत्रकार महासंघ गण्डकी प्रदेश समिति द्वारा आयोजित २ दिने मल्टिमिडिया रिपोर्टिङ तालिमको उद्घाटन गर्दै पाण्डेले प्रेस स्वतन्त्रताको सम्मान गर्ने तर नियमन भने सरकारले गर्ने उल्लेख गरे ।
उनले पत्रकारिता जगतले सकारात्मक सोच र केही गर्न सकिन्छ भन्ने आत्माविश्वास जगाउने गरि सुचना, समाचार सम्प्रेषण गर्न आवश्यक रहेको टिप्पणी गरे ।
लोकतन्त्रको स्थापना गर्न संचार जगतको पनि महत्त्वपूर्ण भूमिका रहेको बताउँदै उनले अब प्रेस रजिस्ट्रार कार्यालय मार्फत मिडिया जगतका लागि नविनतम कार्यक्रम संचालन हुनेमा विश्वस्त पारे ।
यसअघि प्रदेशसभाका आठौं अधिवेशनमा पेश गरिएको नीति तथा कार्यक्रममा उठेका सवालका जवाफ दिँदै मुख्यमन्त्री पाण्डेले राइड सेयरिङ चल्ने बताएका छन् ।
‘संघ सरकारबाट नियमावलीमाथि हस्तक्षेप भएको छ तर ढुक्क हुनुहोस् एक महिनापछि राइड सेयरिङ चल्छ’ पाण्डेले ठोकुवा गरे ।
एक महिना स्थगनमात्र भएको बताउँदै उनले प्रदेश सरकारले जारी गरेको नियमावली कार्यन्वयन भएरै छाड्ने उनको दाबी छ । ‘प्रदेश सरकार आफ्नो निर्णयबाट पछाडी हट्दैन’ मुख्यमन्त्रीले भनेका छन् ।
यसैबीच, आगामी आर्थिक वर्षदेखि घरेलु मदिराको नियमन, ब्राण्डिङ र उत्पादन सुरु हुने मुख्यमन्त्रीले स्पष्ट पारेका छन् ।