नयाँलिपिः नेपाली काँग्रेसका सांसद जितजंग बस्नेतले भ्रष्टाचार नियन्त्रण र सुशासन प्रवर्द्धनका लागि निजामती कर्मचारीलाई प्रोत्साहन आवश्यक भएको बताएका छन्।
राष्ट्रिय सभाको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेटमाथि छलफल गर्दै उनले बढ्दो महंगीलाई ध्यानमा राखेर कर्मचारीको तलब दोब्बर बनाउनुपर्ने बताए।
‘कर्मचारीले काम गरेनन्, भ्रष्ट भए भन्ने सुनिन्छ, के साँच्चै कर्मचारी भ्रष्ट छन् महँगी र कालोबजारी छ, प्रहरी, सेना र निजी क्षेत्रको तलब तुलना गरौँ, त्यो तलबले खर्च पुग्छ ? त्यसैले भ्रष्टाचार नियन्त्रण र सुशासनका लागि तलब दोब्बर वा तीन गुणा बढाउनुपर्छ,’ उनले भने।
उनले आगामी आवको बजेट राम्रो र सन्तुलित भएको तर प्रभावकारी कार्यान्वयनका लागि सशक्त अनुगमन संयन्त्र चाहिने बताए। ‘बजेट सत्तारुढ दलको दस्ताबेज मात्र होइन, यो राष्ट्रिय आकांक्षाको प्रतीक हो,’ उनले भने, ‘यो तथ्य र रकम मात्र नभई देशको भविष्य देखाउने दिशामा अग्रसर छ, जनअपेक्षा अनुसार कार्य पूरा गर्ने प्रतिबद्धता चाहिन्छ।’
उनले नारायणगढ/मुग्लिङ सडकखण्ड देशको ‘लाइफलाइन’ भएको तर अर्बौँ खर्चिए पनि निर्माण पूरा नहुने र बाढी पहिरोले अवरुद्ध हुने अवस्था अन्त्य गर्न वैकल्पिक मार्ग आवश्यक भएको बताए।