दिपक के श्रेष्ठः आजभन्दा ७५ वर्षअघि अन्नपूर्ण हिमालको सफल आरोहणपछि मौरिस हर्जाेगले विश्वमै ख्याति कमाए ।
र, हर्जाेगसँगै नेपालका हिम टाकुराहरु पनि हिमालसँग पौठेजोरी खेल्ने साहसिक पर्वतारोहीहरुको नजरमा प¥यो ।
अन्नपूर्र्ण आरोहणको यस हिरक क्षणमा पोखरा अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले उनै हर्जाेगको बहुमूल्य उपहार आइस एक्स (हिम बञ्चरो) प्राप्त गरेको छ ।
संग्रहालयले पाएको आइस एक्स हर्जाेगलाई अन्नपूर्णको चुचुरोमा पु¥याउने प्रमुख साधनमध्येको एक हो । उक्त आइस एक्स प्रदान गर्न हर्जाेगका छोरा, बुहारी, नातीसँग नेपालस्थित फ्रान्सेली दूतावासकी राजदूतसमेत पोखरा आएकी हुन् ।
त्यतिबेलाको हिमाल आरोहणको सफलतालाई फ्रान्सले तीन दिन राष्ट्रिय उत्सव मनाएको थियो । अन्नपूर्णको सफल आरोहण भएकै दिनलाई अन्नपूर्ण आरोहण दिवसको रुपमा मनाउने गरिँदै आएको छ ।

यस अवसरमा पोखरास्थित संग्रहालयमा त्यसबेला हर्जोगले प्रयोग गरेको आइस एक्स प्रदान गर्नुकासाथै उनै हर्जोगका टोलीकोे शालिकसमेत अनावरण गरेको छ ।
संग्रहालयमा उपहार दिइएको उक्त आइस एक्सको बजार मूल्य करिब ६० हजार डलर रहेको बताइएको छ । सुत्रकाअनुसार उक्त आइस एक्स प्राप्त गरेपछि संग्रहालयले त्यसको बीमा गराउनु पर्ने हुन्छ ।
तर बीमाकाबारेमा भने संग्रहालयले बल्ल प्रक्रिया अघि बढाउने बताएको छ ।
सोही एक्सको सहाराले ३१ वर्षीय हर्जाेगले सन् १९५० जुन ३ मा लुई लचेनलसहित अन्नपूर्ण आरोहण गरेका थिए ।