दिपक के श्रेष्ठः गण्डकी प्रदेशमा यातायात व्यवसायीहरुले सार्वजनिक सवारी साधन आवागमनमा रोक लगाउँदै शुक्रबारदेखि सुरु गरेको आन्दोलनको सकारात्मक प्रभाव पोखराको हावामा परेको छ ।
विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान १० बजेसम्म पोखराको वायु गुणस्तर सूचकांक (एक्यूआई) ७९ मापन गरिएको छ ।
एक महिना अघि पोखराको वायुको गुणस्तर १३५ आइक्यूए रहेको थियो । उक्त आइक्यूएलाई ‘अस्वस्थ’ मानिएको छ ।
यातायात व्यवसायीको आन्दोलनको प्रभावस्वरुप आइक्यूए ह्वात्तै घटेर ७९ मा झर्दा यहाँको वायु गुणस्तर सूचकांकअनुसार ‘मध्यम’ मानिएको छ ।
वायु गुणस्तर सूचकांक एक्यूआईका मापदण्ड वातावरण विभागका अनुसार ०–५० एक्यूआई राम्रो, ५१–१०० मध्यम, १०१–१५० अस्वस्थ, १५१–२०० अस्वस्थ (संवेदनशील समूहका लागि जोखिमपूर्ण), २०१–३०० निकै अस्वस्थ, ३०१ भन्दा माथि खतरनाक मानिन्छ।
यसअघि माघ ३० गते पोखरा देशकै वायु प्रदुषित सहर बनेको थियो । उक्त दिन पोखराको एक्युआई १८७ रहेको थियो । उक्त नम्बरलाई ‘अस्वस्थ र जोखिमपूर्ण मानिन्छ ।