गृहमन्त्रीज्यू, राजीनामा दिनूस्

santan ads

– सन्तोष सिम्खडा, टोकियो, जापान

राजनीति सत्ताको खेलमात्र होइन, यो जनताको विश्वास र सेवाको पवित्र मञ्च पनि हो । नेतृत्वले हरेक पाइलामा नैतिकता र जवाफदेहिताको उच्च मापदण्ड कायम गर्नुपर्छ ।

तर, गृह मन्त्रालयअन्तर्गत भिजिट भिसा प्रकरणमा उजागर भएको संगठित भ्रष्टाचार र मानव तस्करीले यो विश्वासमाथि गम्भीर प्रश्न उठाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दैनिक ४ सय नेपाली भिजिट भिसामा विदेश जाँदा अध्यागमन कर्मचारी, ट्राभल एजेन्सी, प्रहरी र बिचौलियाको ‘सेटिङ’ मा युरोपका लागि ३ लाख र अन्य मुलुकका लागि ३०–५० हजार रुपैयाँ असुल्ने धन्दा चलेको छ ।

पुस २०८० मा प्रहरीले ६६ राहदानी नियन्त्रणमा लिएर यो जालोको पर्दाफास गरेको थियो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सहसचिव तीर्थराज भट्टराईलाई पक्राउ गरेको छ र खगेन्द्र सुवेदीको खातामा एक महिनामै १ करोडभन्दा बढी रकम जम्मा भएको तथ्यले यो तस्करीको गहिराइ उजागर गर्छ ।

जापानमा नेतृत्वले साना गल्तीमा पनि कसरी जवाफदेहिता देखाउँछ भन्ने हाम्रा लागि प्रेरणा हो । सन् २०२५ मा कृषिमन्त्री ताकु इतोले चामलको मूल्यवृद्धिमा अनुचित टिप्पणीका कारण जनआक्रोश झेलेर राजीनामा दिए । सन् २०१४ मा न्यायमन्त्री मिदोरी मात्सुसिमाले हातेपङ्खा वितरण जस्तो सानो गल्तीमा पद छाडिन् ।

सन् २०१७ मा रक्षामन्त्री तोमोमी इनाडाले मातहतको दस्तावेज लुकाएकामा र सन् २००९ मा अर्थमन्त्री शोइची नाकागावाले सार्वजनिक मञ्चमा अस्वाभाविक व्यवहारका कारण राजीनामा दिए । यी उदाहरणले जापानमा ने तृत्वले जनविश्वास र नै तिकताको मापदण्डलाई प्राथमिकता दिने संस्कृति देखाउँछ । नेपालमा पनि कीर्तिनिधि विष्ट, रामशरण महत र गोकुल बाँस्कोटाले विवादमा नैतिकताका आधारमा राजीनामा दिएर जनसेवाको सम्मान गरेका छन् ।

गृहमन्त्रीले भन्नुभएको छ, ‘आर्थिक अनियमितता पुष्टि भए म राजनीति नै छाड्छु ।’ तर, मन्त्रीज्यू, जनसेवा केवल आरोप पुष्टिको पर्खाइमा सीमित हुँदैन । यो त जनताको भावना र विश्वाससँग पनि जोडिएको छ । सामान्य नेपालीको विदेश जाने सपनालाई तस्करीको सिकार बनाइएको यो प्रकरणले तपाईंको नेतृत्वमाथि गम्भीर प्रश्न उठाएको छ ।

तपाईंले राजीनामा दिएर अख्तियारलाई निष्पक्ष अनुसन्धानको अवसर दिनुभयो भने यो कदमले जनताको मन जित्नेछ । यो तपाईंको स्वच्छ छविलाई उजागर गर्ने र जनसेवालाई साँचो अर्थमा परिभाषित गर्ने अवसर पनि हो ।

Scroll to Top