कोटिहोममा स्याङ्जाका पालिकाले सहयोग गर्ने, अनाथ बालकको अभिभावकत्व लिने

santan ads

पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा देशभरबाट जनप्रतिनिधिको उपस्थिति दिनप्रतिदिन बढ्दै गएको छ ।

कोटिहोम दर्शन गर्न आउने जनप्रतिनिधिले शुभकामना सन्देश मात्र नभई आर्थिक सहयोग समेत गर्ने गरेको महायज्ञ प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए । उनका अनुसार कोटिहोममा सहयोग गर्ने भक्तजन दिनहुँ बढ्दै गएका छन् ।

कोटिहोममा आउने जनप्रतिनिधिले यस्ता खालका कोटिहोम नेपालका विभिन्न ठाउँमा गएर सञ्चालन गर्न समेत सुझाव दिएका छन् ।

यस क्रममा आइतबार कोटिहोममा स्याङ्जा जिल्लाका पालिकाबाट प्रमुख तथा उपप्रमुखहरुको सहभागिता रहेको थियो ।

कोटिहोममा गल्याङ्ग नगरपालिका स्याङ्जाका प्रमुख गुरुप्रसाद भट्टराई, वालिङ नगरपालिका स्याङ्जाकी उपप्रमुख कविता तिवारी, आँधीखोल गाउँपालिका स्याङ्जाकी उपाध्यक्ष सीता थापाको उपस्थित रहेको थियो ।

उनीहरूले कोटिहोम दर्शन मात्रै होइन पालिका बाट अनाथ बालबालिकाका लागि अभिभावक वन्ने घोषण समेत गरे ।

गल्याङ्ग नगरपालिका स्याङ्जाका प्रमुख गुरुप्रसाद भट्टराई र वालिङ नगरपालिका स्याङ्जाकी उपप्रमुख कविता तिवारीले पालिकाको तर्फबाट अनाथ वाल वालिकाको अभिभावक बन्न १-१ लाख सहयोग गर्ने घोषणा गरे । त्यति मात्रै होइन मानव सेवाका लागि आवश्यक परेमा अन्य शीर्षकमा पनि सहयोग गर्ने सकिने वचन दिए ।

कोटिहोममा बोल्दै गल्याङ्ग नगरपालिका स्याङ्जाका प्रमुख गुरुप्रसाद भट्टराईले मानव जीवनलाई सार्थक बनाउनका लागि मानव सेवामा जोडिन सबैलाई आग्रह गरे ।

‘मानव सेवा फाउन्डेसनले अनाथ वाल वालिका र ज्येष्ठ नागरिकको लालन पोषणको अभियानमा सञ्चालन गरेको यो कोटिहोम आफैमा उत्कृष्ट छ’ उनले भने, ‘धर्तीमा आफ्नो उपस्थितिलाई सार्थकता बनाउन पनि यस कोटिहोममा आएर सबैले सहयोग गरौँ ।’

वालिङ नगरपालिका स्याङ्जाकी उपप्रमुख कविता तिवारीले यस्ता खलाका महायज्ञले नैतिक शिक्षा तथा आफ्नो धर्म संस्कार सिकाउने काम गरेको हुनाले देशका हरेक ठाउँमा यस्ता महायज्ञ गर्नु पर्ने उल्लेख गरिन् । उनले देशलाई धर्म सापेक्ष बनाउनका लागि सबै लाग्नु पर्ने बताइन् ।

कोटिहोममा पं. सूर्यप्रसाद तिमिल्सिनाबाट २५ हजार ५ सय ५ अर्घखाचीका दधिराम पाण्डेले १५ हजार १ सय १५, पोखरा–१० का कुमान सिंह गुरुङबाट १५ हजार, एकता टोल नारी समूह लिला बराल बाट रु २५ हजार ५ सय ५५, गलेश्वर ज्येष्ठ नागरिक समूह पोखरा गलेश्वर मार्ग बाट २५ हजार ४ सय, पोखरा– २३ की ८८ वर्षिया सन्तु देवकोबाट बाट रु ७ हजार २०, फेदी खोला स्याङ्जाकी कमला बरालबाट ३ टिप समिधा, तालबराही मन्दिर गुठी व्यवस्थापन संस्था बाट रु २५ हजार ५ सय ५५, इन्द्रेणी आमा समूहबाट १५ हजार ५ सय ५५, स्याङ्जा दरबार चोक आमा समूह फेदी खोला ४ बाट ११ हजार ५ सय सहयोग प्रदान भएको छ ।

केही न केही सहयोग गरौँ भन्ने भाव बोकेर कोटिहोम आउने गरेका भक्तजनहरू महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजको अभियानबाट प्रभावित भए पछि मानव सेवामा जोड्न जग्गा नै दान गरेका छन् ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार विराट महायज्ञमा अन्नपूर्ण गाउँपालिका, सल्यानस्थित विष्णु जैसीले ३ रोपनी ३ पैसा र दुर्गादत्त उपाध्याय पौडेलले ५ रोपनी २ पैसा ३ दाम जग्गा दान गरेका छन् ।

कोटिहोम शनिवार देखि अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कथा वाचीका देवी प्रतिभाले कथा वाचन गरेको महायज्ञका सह निर्देशक युवक लामिछानेले जानकारी दिए । २५ जनाको समूहका साथ पुनः पोखरा आएकी देवी प्रतिभाले जेठ १६ गतेसम्म दिव्य प्रवचन दिने कार्यक्रम रहेको लामिछानेले जानकारी दिए ।

त्यस्तै जेठ १४ देखि २२ गतेसम्म भागवत मञ्जरी राधिका दासीले श्रीमद्भागवत कथा प्रवचन गर्ने कार्यक्रम तय भएको छ । कार्यक्रममा चर्चित गायक थानेश्वर गौतमको भजन प्रस्तुतिले अतिथि तथा भक्तजन छमछम नाचेका थिए । पोखराका विद्यालयका विद्यार्थी तथा शिक्षकहरूले पनि कोटिहोमको दर्शन गरेका छन् ।

मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ । सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन भएको हो ।

कोटिहोममा आज देखि राष्ट्रव्यापी खुल्ला वक्तृत्वकला प्रतियोगिता सुरु भएको छ ।

कार्यक्रममा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा ख्याति प्राप्त कलाकारहरूबाट भजन, झाँकी, देव लीला, नृत्य लगायत प्रस्तुति रहेका छन् । पोखरा १७ स्थित सदाशिवजी सिद्देश्वर हरिहर मन्दिरको जग्गा र आसपासका स्थानीयको जग्गामा कोटिहोम सञ्चालन भएको छ ।

कोटिहोम जेठ २६ गतेसम्म सञ्चालन हुने छ ।

Scroll to Top