नयाँलिपिः नेकपा (माओवादी केन्द्र)का उपमहासचिव एवं पूर्वअर्थमन्त्री वर्षमान पुन काठमाण्डौंबाट रोल्पाको थवाङ जाने क्रममा आज अपरान्ह पोखरा आइपुगेका छन् ।
पार्टी अध्यक्ष दाहाल नेतृत्वको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियानमा सहभागी हुेन थवाङ हिँडेका पुनले पोखरामा एकैछिन रोकिएर पत्रकारसँग भेटघाट गरेका छन् ।
भेटघाटमा पुनले अहिलेको सरकार बिचौलियाले बनाइदिएको भन्दै उनीहरुकै हितमा काम गरिरहेको प्रष्ट पारे। उनले भने ‘हामीले त्यतिबेलै भनेका थियौ, अहिले प्रमाणित भइसकेको छ ।’
सुशासनको अभियान कमजोर बनाउन र भ्रष्टाचारलाई संस्थागत गर्ने वर्तमान संयुक्त सरकार कटिबद्ध रहेको उनको आरोप छ ।
राजनीतिक बजारमा माओवादी सरकारमा जाने यदाकदा हल्ला चलिरहेको बताउँदै उनले अहिले सरकारमा नजाने तर ०८४ मा एकल सरकार बनाउन गृहकार्य गरिरहेको बताए ।
‘०८४ मा सरकार बनाउन माओवादी तराईपछि पहाडी क्षेत्रमा जनसंवाद अभियानमा लागिरहेको छ, हामीलाई सरकारमा जान रुचि छैन’ पुनले स्पष्ट पारे ।
एमाले र कांग्रेसको सरारले लोकतन्त्रलाई बद्नाम गरिरहेको आरोप लगाउँदै पुनले व्यवस्था र संविधान जोगाउन अडिग रहने उल्लेख गरे ।

सोहीक्रममा माओवादी गण्डकी प्रदेश इन्चार्ज दीननाथ शर्माले माआवादीले सुरु गरेको मध्यपहाडी लोकमार्ग जनसंवाद अभियान सबै लोकतान्त्रिक पार्टीको भएको बताए ।
माओवादीले रगत र पसिना बगाएर ल्याएको संविधानको रक्षा गर्नु पार्टीको दायित्व भएको उनको भनाई छ । ‘नेतृत्व खराब देखिए तर व्यवस्था र संविधान खराब छैन’ शर्माले भने ।
माओवादीको मध्यपहाडी अभियानअन्तरगत आगामी १० गते पोखरामा जनसभा गर्ने उनले जानकारी दिए ।
पत्रकार भेटघाटका कार्यक्रम प्रेस सेन्टर कास्कीको आयोजनामा भएको थियो ।