‘प्याराग्लाइडिङ स्पट’मा एक्कासी पुग्यो प्रहरी, मापसे र लापसे जाँच

santan ads

नयाँलिपिः प्रायः सवारी चालकहरुले मादक पदार्थ सेवन गरे, नगरेको परीक्षण गर्ने प्रहरीले पोखरामा एक्कासी प्यारापाइलटहरुको परीक्षण गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदामले सोमबार प्याराग्लाइडिङ पाइलटहरूले मादक पदार्थ सेवन (मापसे) र लागुपदार्थ सेवन (लापसे) गरेर उडान गरे/नगरेको परीक्षण गरेको छ।

प्यारापाइलटहरुले मापसे र लापसे सेवन गरी उडान गर्ने गरेको जानकारी आएपछि प्याराग्लाइडिङ उडान हुने पोखरा २४ स्थित मान्द्रेढुंगा पुगेर प्रहरी, व्यवसायी र पाइलट क्लबका प्रतिनिधिसहितको टोलीले उनीहरूको परीक्षण गरेको जिप्रकाले जनाएको छ ।

कास्कीका प्रहरी प्रमुख श्यामबाबु ओलिया, वडा प्रहरी कार्यालय पोखरा ६ बैदामका प्रमुख सन्तोष निरौला, नेपाल हवाई खेलकुद संस्था (ना)का अध्यक्ष अनिल केसी, नाका महासचिव बलराम आचार्यलगायतको टोलीले उनीहरूको मान्द्रेढुंगा पुगेर मापसे र लापसे परीक्षण गरेका थिए।

प्रहरी प्रमुख ओलियाका अनुसार परीक्षणकाक्रममा १ जनाले सेवन गरेको पाइएको छ । सेवनकर्ता विशालबहादुर क्षेत्री रहेको उनले जानकारी दिए ।

क्षेत्रीलाई कानुनी कारवाही गर्न प्रक्रिया अघि बढाएको प्रमुख ओलियाले जनाएका छन् ।

३९ जना पाईलटहरुलाई मापसे र सोही मध्येका १५ जना पाईलटहरुलाई लापसे चेकजाँच गर्दा १ जना पाईलटको मापसे र लापसे दुवै सेवन गरेको पाईएको उनले उल्लेख गरे ।

‘प्यारापाइलटले मापसे, लापसे प्रयोग गरी उडान भर्ने गरेको सूचना पाएपछि प्रहरी निरीक्षणार्थ त्यहाँ पुगेको हो, यसलाई निरन्तरता दिनेछौं’ ओलियाले भनेका छन् ।

तस्बिरः कास्की प्रहरी

Scroll to Top