भक्तजनलाई जोड्दै कोटिहोम, देवि प्रतिभा पुनः आउँदै

santan ads

नयाँलिपिः पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञ यतिवेला सहभागी भक्तजनलाई मानव सेवामा जोड्ने थलो बनेको छ ।

मानव सेवा फाउन्डेसनले गरेका गतिविधिलाई भक्तजनले कोटिहोममा जानकारी लिने अवसर पाएसँगै मानव सेवामा जोडिने सङ्ख्या बढ्दो छ ।

कोटिहोममा अभिभावकी जिम्मा, आजीवन सदस्य र शिलालेखमा नाम लेख्ने भक्तजनको सङ्ख्या बढ्दै गएको प्रचार प्रसार संयोजक लेखराज ढकालले जानकारी दिए ।

देशमा विभिन्न जिल्लाबाट आएका व्यक्तिहरू अभिभावकीय जिम्मा, आजीवन सदस्य र शिलालेखमा आफ्नो नाम टिपाउनका लागि उत्साहित भएका छन् । मानव सेवामा आफूलाई समर्पित गर्न पनि यो सङ्ख्या दिनहुँ बढ्दै गएको छ ।

मानव सेवा फाउण्डेसनको आश्रयमा रहेका वाल वालिका र ज्येष्ठ नागरिकको अभिभावक बन्न १ लाख भन्दा बढी, आजीवन सदस्य बन्न २५ हजार र शिलालेखमा नाम लेख्न १५ हजार रुपैयाँ रहेको छ ।

मानव सेवा फाउन्डेसनले ललितपुरमा मामाघर अनाथालय आश्रम र भक्तपुरमा छोरीको घर ज्येष्ठ नागरिक आश्रम नयाँ भवनको शिलान्यास गरिसकेको छ ।

मानव सेवा फाउन्डेसनले सनातन हिन्दु धर्मको रक्षासँगै ललितपुरको मामाघर अनाथालय र भक्तपुरको छोरीको घर ज्येष्ठ नागरिक आश्रम निर्माणका लागि सहयोग स्वरूप पोखरामा कोटिहोम सञ्चालन गरेको हो । कोटिहोममा सनातन हिन्दु धर्मको रक्षा सँगै विभिन्न जात जातिको संस्कृति जर्गेना गर्ने उद्देश्यले पनि विभिन्न जात जातिको संस्कृति प्रस्तुत भएको छ ।

महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजका अनुसार धार्मिक क्षेत्रमा राम्रो प्रतिभा भएको कोही पनि नव उदीयमान व्यक्तित्व कोटिहोममा राम्रो स्थान दिइनेछ। ती प्रतिभाले त्यस बापत केही दिनुपर्दैन बरु हामी उच्च मूल्याङ्कन गरेर सहयोग गरिने उनले जानकारी दिए ।

‘गण्डकी कोटिहोम ज्ञान महायज्ञमा सबै जनालाई स्वागत गर्न प्रतीक्षारत छु’ महायज्ञका सङ्कल्पकर्ता बालयोगेश्वर श्री विजय कृष्णमूर्तिजी महाराजले भने ‘पछाडि विरोध गर्नेलाई पनि हाँसेर नै स्वागत गरिन्छ, मनमा लिँदिन कहिल्यै, ढुक्कले आउँदा हुन्छ।’

कोटिहोममा आदियोगि गौतम स्वामी, कथा व्यास लुम्बिनीका अध्यक्ष पुरुषोत्तम बस्याल गुरुदेव, डा।एकनाथ पौडेल, नारायण प्रसाद गुरुदेव, उमा महेश्वरी मातजीको उपस्थिति रहेको थियो ।

कोटिहोममा फिमला आमा समूह पोखरा–३ नदीपुरबाट ७७ हजार १ सय ३५, नारायण फर्निचर उद्योग पोखरा–१७ का विश्वेश्वरप्रसाद अर्याल र कणकुमारी अर्यालले ४१ हजार १ सय ५५, डा. नन्द श्रेष्ठबाट नगद २५ हजार र ७५ हजार बराबरको औषधी, पोखरा–१७ का क्या. खड्कबहादुर शाहीले ३३ हजार १ सय २०, राधाकृष्ण मन्दिर सञ्चालक समिति पोखरा– १० बाट २५ हजार ५ सय ५५, स्याङ्जाका सत्यदेव ढकालबाट १६ हजार १ सय ११ सहयोग प्राप्त भएको छ ।

अन्तर्राष्ट्रिय कथावाचिका देवी प्रतिभाले जेठ १० देखि १६ गते सम्म पुन पोखराको कोटिहोममा कथा वाचन गर्ने कार्यक्रम रहेको प्रचार प्रसार संयोजक ढकालले जानकारी दिए ।

यसअघि १४ दिन कथा वाचन गरेर सम्पूर्ण भक्तजनको मन जितेर गएकी देवी प्रतिभाको सुमधुर स्वरमा भक्तजनलाई पुनः पोखरामा कथा श्रवण गर्न मौका मिलेको छ ।

देवी प्रतिभा पोखरा रहँदा छुटेका भक्तजनलाई पुन एक पटक उनका कोकिल वाणीबाट कथा श्रवण गर्ने मौका मिलेको छ । पुन पोखरा ‘प्यार से बोलो ना’ ले गुञ्जायमान हुने छ ।

Scroll to Top