तरुणको खुकुरी प्रकरणः अझै दर्ता भएन जाहेरी, दोषी खोज्दै प्रहरी

santan ads

नयाँलिपिः जिल्ला प्रहरी कार्यालय लमजुङले नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल तरुण दल लमजुङको अधिवेशनमा खुकुरी प्रहार गर्ने व्यक्तिहरुको खोजी गरिरहेको बताएको छ।

जिप्रका लमजुङका प्रमुख डिएसपी रेशम बोहोराले जाहेरी पर्खेर नबसेको भन्दै खुकुरी प्रहार गर्ने व्यक्तिहरु खोजिरहेको बताएका छन् । अहिलेसम्म जाहेरी दर्ता नगरेको विषयमा प्रश्न गर्दा प्रमुख बोहोराले भने ‘जाहेरीमा आवश्यक रित नपुगेकाले फर्काएका हौं ।’

शनिबार अधिवेशनका क्रममा विवाद हुँदा एक पक्षले खुकुरी, रड, स्टेजमा राखिएको पानस, इट्टा लगायत प्रयोग गरी आक्रमण गरेका थिए।

आक्रमणमा परी ५ जना घाइते भएका थिए। घाइतेमध्ये बेसीशहर– ९ का वडाध्यक्ष खुशीजंग गुरुङ र नेपाल विद्यार्थी संघका केन्द्रिय सदस्य सुदीप अधिकारी गम्भीर घाइते छन्।

उनीहरुको जिल्ला अस्पताल बेसीशहरमा प्राथमिक उपचार पश्चात थप उपचार गर्न चितवन मेडिकल कलेज रिफर गरिएको छ।

अन्य घाइतेहरु शंकर सापकोटा, किशोर बस्नेत र धनबहादुर तामाङको भने जिल्ला अस्पतालमै उपचार गरेर डिस्चार्ज भइसकेका छन्।

पूर्णकालीन सदस्यता, प्रतिनिधि छनोट गर्नेलगायत विषयमा उनीहरुबीच विवाद भएको बताइएको छ ।

भर्खरै प्राप्त जानकारी अनुसार पीडित पक्षहरु जाहेरी तयार गरिरहेको र आजै दर्ताको प्रक्रिया पुरा गर्ने भएका छन् ।

लमजुङ प्रहरीका प्रहरी निरीक्षक राज किशोर साह तेलीले जाहेरी आउन लागेको र पर्खेर बसेको जानकारी दिएका छन् । उनले घटनाको दोषिको नाम जाहेरीपछि नै खुलाउने बताए ।

यद्यपि, तरुण दल लमजुङका उपाध्यक्ष रहेका मर्स्याङ्दी गाउँपालिका– ५ का भूपेश गुरुङ, मध्यनेपाल नगरपालिका– ७ का धनबहादुर तामाङ र राइनास नगरपालिका– ६ का गणेश गुरुङलाई दोषी मानिएको छ ।

Scroll to Top