पिएन क्याम्पसमा प्राध्यापक कुटिए, विद्यार्थी हेपिए !

santan ads

नयाँलिपिः पृथ्वीनारायण क्याम्पस, पोखराका प्राध्यापकले विद्यार्थीमाथि अपमानजनक शब्द प्रयोग गरेको र जातीय दूव्र्यवहार गरेको आरोप लागेको छ ।

एमबीएमा अध्ययनरत विद्यार्थी अमन परियारमाथि उप्राध्यापक देविलाल शर्माले शैक्षिक भ्रमणकाक्रममा दूर्वाच्य बोलेको दलित विद्यार्थी समाज, पृथ्वीनारायण क्याम्पसका अध्यक्ष अमृत विकले बताएका छन् ।

‘अमनमाथि जातकै आधारमा अपशब्द बोलिएको र प्रतिवाद गर्दा पोखराबाटै गायब पारिदिने धम्की दिइएको छ’ अध्यक्ष विकले जानकारी दिए ।

एमबीए फाइनान्सतर्फका विद्यार्थीलाई लिएर प्राध्यापकहरुको समूह औद्योगिक भ्रमणार्थ हेटौंडा गएका थिए । हेटौंडापछिको गन्तव्य सिन्धुलीमा सोमबार साँझ दूर्व्यवहार भएको बताइएको छ ।

भ्रमणमा प्राध्यापक शर्मासँगै राजेन्द्र सुवेदी र ध्रुव बुढाथोकी रहेका थिए । समाजले क्याम्पस प्रमुखलाई ज्ञापनपत्र बुझाइसकेका छन् भने शर्मा विभागीय प्रमुखबाट हटाइएका छन् ।

यसबीच, मंगलबार प्रकरणले एकाएक अर्काे रुप लिएको छ । विद्यार्थीहरुको समूह स्ववियुका सचिव विराट दवाडीको नेतृत्वमा अपरान्ह क्याम्पस प्रमुखको कार्यकक्षमा यस विषयमा कुराकानी गर्न पुगेका थिए ।

छलफल गर्न भनि भेला भएका प्राध्यापक र विद्यार्थीबीच निर्धारित समय भन्दा करिब एक घण्टा ढिलो गरेर प्राध्यापक शर्मा आइपुगे ।

विद्यार्थीहरुले उनले बोलेका शब्दबारे प्रश्न गर्दा ‘बस बिग्रेर १३ घन्टा रोकिँदा माइन्ड फ्रेस गर्न त्यसो भनेको’ बताएपछि एकाएक माहोल असमान्य बन्यो ।

स्ववियुकै संलग्नतामा चलिरहेको छलफलमा स्ववियुकै सचिव दवाडीसहित स्ववियु सदस्य सुशिल अधिकारी र समाजका अध्यक्ष अमृत विकले एक्कासी प्राध्यापक शर्मामाथि मुक्का बजारेका छन् ।

यस विषयमा समाजका अध्यक्ष विकले प्राध्यापक शर्मामाथि हातपात गरेको स्वीकारेका छन् । विक भन्छन् ‘विभेदका विरुद्ध कानूनी लडाई लड्न तयार छु, सजाय भोग्न तयार छु ।’

छलफलमा ढिलै उपस्थित भएपनि प्राध्यापक शर्माले आफ्नो गल्ती स्वीकार्छन् माफी माग्छन् भन्ने अपेक्षा गरेर कुरिरहँदा उल्टै ‘भनेकै हो’ भन्दै दम्भ देखाएपछि माहौल बिग्रिएको स्ववियु पदाधिकारी बताउँछन् ।

‘घटनाउपर मध्यस्थता गर्ने प्रयास गर्दा हामीले बाहिर निकाल्ने, धकेल्ने काम भयो, हामीलाई उक्साउने काम गरियो, उल्टै दूव्र्यवहार गरेपछि साथीहरुले प्रतिवाद गरेका हुन्’ सचिव दवाडीको भनाई छ ।

प्राध्यापक शर्माले समानताको हक र दलितको हकविरुद्ध प्रहार गरेको भन्दै उनले संविधानविरोधी अभिव्यक्ति दिएको विकको भनाई छ ।

यसैबीच, समाजले आज दिउँसो जिल्ला प्रहरी कार्यालयमा शर्माविरुद्ध जाहेरी दिने तयारी गरेका छन् ।

Scroll to Top