सोमबार साँझ बाढीले बगाएकी रेनुका अझै बेपत्ता, खोजी कार्य जारी

santan ads

सोमबार दिउँसोको ठूलो वर्षापछि आएको बाढीले बगाएकी महिला अझसम्म पनि फेला परेकी छैनन्। सोमवार बेपत्ता भएकी महिलाको खोजी तीव्र पारिएको प्रहरीले जानकारी दिएको छ।

सोमवार साँझ ६ बजे पनौती नगरपालिका–५ स्थित सुब्बागाउँमा ढलमले खोलाले बगाउँदा सोही ठाउँकी ३३ वर्षीया रेनुका गिरी बेपत्ता भएकी थिइन्। मेला गएर फर्कने क्रममा उक्त खोलामा आएको बाढीले उनलाई बगाएको थियो।

कार्यालयका अनुसार प्रहरी टोली र स्थानीयले निरन्तर खोजी गरे पनि सोमबार राति अबेरसम्म फेला नपरेपछि खोजीकार्य स्थगित गरिएको थियो।

मंगलवार बिहानदेखि नेपाल प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी प्रहरीसहितको टोली परिचालित गरी पुनः खोजीकार्य सुरु गरिएको प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेले बताए।

सोमबारको वर्षाले पनौती बसपार्क आसपासका केही क्षेत्र डुबानमा परेको थियो। यस्तै आलु लगाइएको खेतमा खोलाको बाढी पस्दा क्षति भएको छ।

वर्षाका कारण बिपी राजमार्गको माप्तीस्थित रोशी खोलाको बाढीले सोमबार राति डाइभर्सन बगाउँदा सोमवार रातिदेखिनै अवरुद्ध भएको छ। गएरातिदेखि अवरुद्ध राजमार्ग खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार उक्त बाढीले रोशी गाउँपालिका–१२ स्थित राजमार्गको मङ्गलटारतर्फको सडक राति थप क्षति पुर्याएपछि राजमार्ग खुलाउन सकिएको थिएन।

उनले प्रहरी टोली तथा स्थानीयका पहलमा आज बिहानैदेखि एकतर्फी भए पनि राजमार्ग खुलाउने प्रयास भइरहेको बताए।

Scroll to Top