नयाँलिपिः पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा आज बुद्ध पूर्णिमाको विशेष कार्यक्रम सहित धार्मिक कार्यक्रमहरू भव्य रूपमा सम्पन्न भएको छ ।
महायज्ञको आठौँ दिनमा १ सय जना बटुकहरुको समुहिक ब्रतबन्ध सम्पन्न भएको छ भने हालसम्म करिब ५ सय बटुकहरुको ब्रतबन्ध गरिसकिएको छ ।
त्यसैगरी, सयजना जेष्ठ नागरिक आमा–बुवाहरूको चौरासी पूजासमेत विधिपूर्वक सम्पन्न गरिएको छ। चौरासी पूजामा सहभागी जेष्ठ नागरिकहरूको दीर्घायु, स्वास्थ्य र समृद्धिको कामना गर्दै वैदिक विधिअनुसार पूजापाठ गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथि राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिन्देल, बिशेष अतिथिमा किरात धर्मगुरु चन्द्रकुमार शेर्मा रहेका थिए।
महायज्ञलाई सम्बोधन गर्दै प्रमुख अतिथि लिन्देलले धर्मको नाममा राजनीति गर्नु आमाको रगत खानु सरह भएको कडा टिप्पणी गरेका छन्। उनले धर्मलाई संकीर्णताको रुपमा नबुझ्न र समाज रुपान्तरणको माध्यमका रुपमा लिनुपर्नेमा जोड दिए।
कोटिहोममा प्रतिनिधी सभा संघीय संसद अन्तर्गतका महिला तथा सामाजिक मामिला समितिका सभापति तथा संस्कृत भाषामा सपथ लिने एकमात्र सांसद किरण कुमार शाहको पनि उपस्थिति रहेको थियो। उनले धार्मिक शिक्षा र संस्कारको प्रवर्द्धनमा यस्तो यज्ञले सकारात्मक भूमिका खेलेको बताउँदै महिलाहरूको समेत सक्रिय सहभागिता प्रशंसनीय रहेको उल्लेख गरिन्।
यसैक्रममा, गण्डकी प्रदेश सरकारकी सचिव कमला दाहालले विशेषगरी वृद्धवृद्धा, बालबालिका र अपांग व्यक्तिका लागि संरक्षित आवासका रुपमा यो आश्रम सञ्चालन गरिने बताउँदै सामाजिक उत्तरदायित्वका कार्यमा सरकार प्रतिबद्ध रहेको प्रस्ट पारिन्।
कास्की जिल्लामा १३ रोपनी जग्गामा ‘मामाघर आश्रम’ स्थापना गरिने विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्तिजीले समेत जानकारी दिएका छन्।