गण्डकी कोटिहोममा आज राप्रपा अध्यक्ष लिङ्देन जाँदै

santan ads

नयाँलिपिः पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटिहोम विराट ज्ञान महायज्ञमा बुद्ध पूर्णिमाको विशेष कार्यक्रम भव्यरूपमा आयोजना गरिएको छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का केन्द्रीय अध्यक्ष राजेन्द्र लिङ्देनको विशेष उपस्थिति रहनेछ। आयोजक समितिका अनुसार बुद्ध पूर्णिमालाई लक्षित गर्दै विभिन्न सांस्कृतिक कार्यक्रमहरू, धार्मिक प्रवचन तथा समाजका विभिन्न धर्म गुरुहरूको उपस्थितिमा विशेष समारोह गरिने छ।

महायज्ञमा हिन्दू, बौद्ध, किरात लगायत विभिन्न धर्म सम्प्रदायका सन्त, महात्मा, तथा विद्वान् धर्मगुरुहरूको आगमन अपेक्षित गरिएको छ। यस अवसरमा बौद्ध धर्म गुरु, किरात धर्म गुरु, तथा अन्य सम्माननीय अतिथिहरूले मन्तव्य दिने कार्यक्रम पनि तय गरिएको छ।

यो विराट ज्ञान महायज्ञ धार्मिक सहिष्णुता, आध्यात्मिक उन्नति, र सांस्कृतिक एकताको प्रतिकको रूपमा आयोजना गरिएको छ।

विराट महायज्ञका संकल्पकर्ता बालयोगेश्वर विजयश्री कृष्णमूर्ति जी महाराजले यो विराट महायज्ञले राष्ट्र, धर्म र मानवताका लागि नयाँ ऊर्जा थपेको प्रष्ट पार्दै धर्म भनेको विभाजन होइन, समन्वय हो। सबै धर्म एउटै मूलबाट निस्केका जलधाराजस्तै हुन्—जो अन्ततः एउटै समुद्रमा विलीन हुन्छन् भन्दै बताएका छन्।

आयोजकका अनुसार धर्म र सम्प्रदायहरूबीचको एकता र आपसी आदरलाई केन्द्रमा राखेर समाजमा सकारात्मक ऊर्जा फैलाउने उद्देश्य लिएको जानकारी दिएका छन् ।

आज देखि महायज्ञमा वाचन प्रवीण पं. दिनबन्धु पोखरेल प्रवचन सुरु गरेका छन्। पोखरेलले आफ्नै झाँकी र सङ्गीत समूह सहित कोटिहोममा प्रवचन गर्ने छन् । उनले जेठ ३ गतेसम्म ७ दिन कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।

Scroll to Top