चालकसँग ‘चिकेन कम्बो’ खाजा माग्ने ट्राफिकमाथि कारवाही प्रक्रिया सुरु –कास्की प्रहरी

santan ads

नयाँलिपिः एक स्कुटर चालकसँग कारवाहीस्वरुप चिकेन कम्बो खाजासेट माग्ने ट्राफिक प्रहरीमाथि कारवाही गरिने भएको छ ।

स्कुटर चालक नवीन गुरुङले डबल पार्किङ् गरेको भन्दै महेन्द्रपुलमा खटिएका ट्राफिक प्रहरीले चिट काटेर कारवाही गर्नुको सट्टा ४ सेट खाजा मागेपछि गुरुङ पत्रकार अपील त्रिपाठीसमक्ष पुगेका थिए ।

पत्रकार त्रिपाठीले उक्त विषय सार्वजनिक गरेपछि जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीले जिल्ला प्रहरी कार्यालयमा खबर गरेको छ ।
जिप्रका कास्कीले ट्राफिक प्रहरीबाट गम्भीर गल्ती गरेको ठहर गर्दै कारवाही गर्न बताएको छ ।

‘हामीले ट्राफिक प्रहरीबाट भएको गल्तीको जानकारी पाइसकेका छौं’ जिप्रका कास्कीका डिएसपी हरिबहादुर बस्नेतले भने ‘आवश्यक कारवाहीको प्रक्रिया अघि बढाइसकेका छौं ।’

डिएसपी बस्नेतका अनुसार चालकको गल्तीमा चिट काटी कारवाही नगरेको र खाजा मागेको दुइवटा गल्ती ट्राफिक प्रहरीबाट भएको छ ।

जिल्ला ट्राफिक प्रहरीले पनि घटनामा संलग्न ट्राफिक प्रहरीको नाम र विवरण जिल्ला प्रहरी कार्यालयमा पठाइसकेको जानकारी दिएको छ ।

Scroll to Top