नयाँलिपिः राजसंस्था पुनस्र्थापना र सनातन हिन्दु धर्मका लागि आगामी जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलनको घोषणा भएको छ ।
बिहीबार राजधानीमा पत्रकार सम्मेलन गर्दै राजसंस्था पुनस्र्थापना लागि गठित समितिका संयोजक नवराज सुवेदीले राजसंस्था पुनस्र्थापनाको लागि नयाँ चरणको जनआन्दोलन गर्ने जानकारी दिएका हुन् ।
आफूहरूको आन्दोलन व्यवस्था परिवर्तनका लागि भएकाले कुनै सरकार वा सत्तामा रहेका दलहरूको विरोध नगर्ने बताउँदै उनले भने, “हाम्रो आन्दोलन शान्तिपूर्ण हुनेछ । भद्र अवज्ञा र सत्याग्रह हाम्रो आन्दोलनको स्वरुप हुनेछ ।”
जनआन्दोलन घोषणा सभामा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापा, पञ्चायतकालीन नेता केशरबहादुर विष्ट लगायत उपस्थित थिए ।