अप्रिलमा आए सवा लाख पर्यटक

santan ads

नयाँलिपिः सन् २०२५ को अप्रिल महिनामा हालसम्मकै उच्च सङ्ख्यामा विदेशी पर्यटक नेपाल भित्रिएका छन् ।

नेपाल पर्यटन बोर्डले उपलब्ध गराएको तथ्याङ्क अनुसार अप्रिल महिनामा मात्रै १ लाख १६ हजार ४९० विदेशी पर्यटक नेपाल आएका छन् । नेपालको पर्यटनमा अप्रिल महिनाको विदेशी पर्यटक आगमनमा रेकर्ड कायम भएको बोर्डले उल्लेख गरेको छ ।

अप्रिलमा सबैभन्दा बढी भारतबाट २५ हजार ९३३, अमेरिकाबाट १० हजार ५३, चीनबाट नौ हजार ३७ र संयुक्त अधिराज्य बेलायतबाट छ हजार ८३८ पर्यटक नेपाल भित्रिएका छन् । पछिल्लो आँकडा हेर्दा भारतीय र चिनियाँ पर्यटक बढ्न सकेका छैनन् ।

बोर्डका अनुसार सन् २०१९ को तुलनामा १०६ दशमलव ५ प्रतिशतले विदेशी पर्यटक आगमनमा बढोत्तरी भएको छ । कोरोना महामारीपूर्व सन् २०१९ को अप्रिल महिनामा सबैभन्दा धेरै एक लाख नौ हजार ३९९ विदेशी पर्यटक नेपाल आएका थिए ।

सन् २०२४ को अप्रिलमा एक लाख ११ हजार ३७६ जना विदेशी पर्यटक नेपाल आए भने सन् २०२३ को अप्रिलमा ९८ हजार ७७३ जना पर्यटक नेपाल भित्रिएका थिए ।

“हामीले आधिकारिक रुपमा १०६ दशमलव ५ प्रतिशत पूर्व–महामारीस्तरमा पुगेका छाै, यसले बलियो ‘रिकभरी’ र नेपालमा बढ्दो विश्वव्यापी चासो देखाउँछ”, बोर्डले उल्लेख गरेको छ ।

– फाइल तस्बिर

Scroll to Top