नयाँलिपिः नेकपा माओवादी केन्द्रका महासचिव देवप्रसाद गुरुङले महासचिव गुरुङले माओवादीलाई तत्काल सरकारमा जान हतार नभएको बताएको छन् ।
प्रेस सेन्टर नेपाल कास्कीले शुक्रबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले माओवादीलाई सरकारमा रुचि नभएपनि आफ्नै कारण सरकार धर्मराइरहेको प्रतिक्रिया दिए ।
‘सरकार आफ्नै कारण ढल्ने संकेत देखिएको छ’ गुरुङले भने ‘प्रतिपक्ष भन्दा सत्तापक्षमा नै चर्को असन्तुष्टि देखिन्छ, त्यो कांग्रेसमा पनि छ र एमालेमा पनि छ ।’
त्यस्तै, गुरुङले जनतामा बढेको निराशालाई राजावादीले आन्दोलनमा उपयोग गर्न खोजेको आरोप लगाएका छन् ।
‘वर्तमान सरकारले भ्रष्टाचारीलाई संरक्षण, सुशासनमा कमी आउने कार्य गर्न थालेपछि जनतामा निराशा बढेको छ । त्यहि निराशालाई दरबारिया शक्तिहरुले उपयोग गरेर यो व्यवस्थाको बिरुद्धमा, गणतन्त्रको बिरुद्धमा क्यास गर्न खोजेका छन्’ उनले प्रष्ट्याए ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणकाक्रममा करिब १० अर्ब रुपैयाँ भ्रष्टाचार भएको सार्वजनिक लेखा समितिको प्रतिवेदनतर्फ इंगित गर्दै गुरुङले यसउपर न्यायिक छानबीन हुनुपर्ने माओवादीको माग रहेको उल्लेख गरेका छन् ।