नयाँलिपिः पोखराको बिरौटामा आयोजित गण्डकी कोटीहोमको भारतीय चर्चित स्वामी कैलाशानन्दजीले उद्घाटन गरेका छन् ।
उद्घाटन समारोहमा कास्कीका विभिन्न राजनीतिक दलका नेता, पत्रकारलगायतले मन्तव्य राख्दै गण्डकी क्षेत्रमै आयोजित कोटीहोमले यस क्षेत्रको शोभा बढाएको धारणा राखे ।
उद्घाटनपश्चात् प्रमुख अतिथि स्वामी कैलाशानन्दले कृष्णलीला कथा सुनाए । स्वामीको आगमनले महायज्ञको शोभा बढेको र चर्चा चुलिएको आयोजक मानवसेवा फाउण्डेशनका संचालक एवं संकल्पकर्ता बालयाेगेश्वर श्रीविजय कृष्णमुर्तिले बताए ।
सोही अवसरमा नेपाली कांग्रेस कास्कीका सभापति किशोर बराल एवं पत्रकार सन्तोष देउजाले महायज्ञको महत्व दर्शाउँदै सफलताको शुभकामना व्यक्त गरे ।
महायज्ञ अवधिभर भजन, सत्सङ्ग, पूजापाठ, आरती र सांस्कृतिक कार्यक्रमहरू सञ्चालन हुनेछन् ।

साथै, सामाजिक सञ्जाल भिडियो प्रतियोगिता, राष्ट्रिय भजन प्रतियोगिता र वक्तृत्वकला प्रतियोगिताको आयोजना गरिएको छ, जसले रचनात्मक अभिव्यक्ति र सांस्कृतिक सहभागितालाई प्रोत्साहन गर्नेछ ।
आयोजकले देश–विदेशबाट लाखौं भक्तजनको सहभागिता अपेक्षा गरेको छ।