दिपक के श्रेष्ठः अन्नपूर्ण गाउँपालिका वडा नम्बर–११ स्थित त्रिवेणी ताल (हिडन लेक) पदमार्ग अन्तरगत मुल्देभन्दा माथि आईतबार दिउँसो २ जना मजदुरको चट्याङ लागेर मृत्यु भएको छ ।
मृतकको शव लिन जिल्ला प्रहरी कार्यालयबाट आइतबारै घटनास्थलतर्फ हिँडेको टोली आज बिहान घान्द्रुकबाट त्यसतर्फ लागेको छ । कठिन भूगोलकाकारण दिउँसो २ बजेमात्र प्रहरी त्यहाँ पुग्ने बताइएको छ ।
जिप्रका कास्कीबाट प्रहरी निरीक्षक राजकुमार केसीसहित त्यता लागेको टोली आइतबार घान्द्रुक प्रहरी चौकी बसेको थियो । आज बिहानै घटनास्थलतर्फ रवाना भएको चौकीका हवल्दार डुमराज बोहोराले जानकारी दिएका छन् ।
‘चौकीबाट बाटो देखाउने १ जना प्रहरीसहित जिल्लाको टोली त्यता निस्किएको छ’ प्रह बोहोराले भने ‘दिउँसो २ बजेसम्म पुग्न सकिन्छ, आजै शव झार्न सकिने, नसकिने यसै भन्न सकिन्न ।’
घटनास्थाल अत्यन्तै विकट भएको र त्यहाँ टेलिफोन सम्पर्क पनि हुन नसक्ने बोहोराले जानकारी दिएका छन् ।
मृतकहरु संखुवासभाको सिलिचुङ गाउँपालिका–२ का भरतकुमार राई र महेश राई रहेको ठेकेदारलाई उद्धृत गर्दै प्रहरी चौकीले बताएको छ ।
त्रिवेणीताल पदमार्गको चिमाङ्गीमा पदमार्ग फराकिलो बनाउने तथा सिंढी हाल्ने र रेलिङ निर्माण कार्यमा खटिएका ९ मजदुरमध्ये राईद्वयको चट्याङ् लागेर मृत्यु भएको हो ।
उक्त क्षेत्रमा उनीहरुले आइतबारदेखि नै काम थालेका थिए । निर्माणस्थलमा बनाइएको अस्थायी टहरोमा खाना बनाउन गएकाबेला उनीहरुलाई चट्याङले हानेको सूचना प्राप्त भएको प्रहरीले जनाएको छ ।
गाउँपालिका अध्यक्ष विष्णुबहादुुर केसीका अनुसार पदमार्गको मुल्देमाथि कोकर क्षेत्र घटनास्थल रहेको र अत्यन्तै विकट स्थान हो । त्यहाँ पुग्न घान्द्रुकबाट करिब ८ घण्टा बढी पैदलयात्रा गर्नुपर्ने केसी बताउँछन् ।
घटनास्थाल हिडन लेक पदमार्गको मुल्दे भ्यू पोइन्टबाट माथि र पोडेखर्क भन्दा केही तल पर्छ । उक्त स्थान समुन्द्री सतहबाट करिब ३९ सय मिटरमा रहेको छ ।