दिपक के श्रेष्ठः सरकारी आवासीय चिकित्सक सरह समान पारिश्रमिक र वैज्ञानि ड्युटी रोष्टरको माग गर्दै देशैभरका निजी अस्पतालमा कार्यरत चिकित्सकहरु एक निरन्तर आन्दोलनमा छन् ।
सोही आन्दोलनस्वरुप पोखराका मणिपाल कलेज अफ मेडिकल साइन्सेज र गण्डकी मेडिकल कलेजका आवासीय चिकित्सकहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन् ।
पत्रमा सरकारी आवासीय चिकित्सक सरह पारिश्रमिक उपलब्ध गराउन, वैज्ञानि ड्युटी रोष्टर कायम गर्न र सरकारले पारित गरेको निर्देशिक कार्यान्वन गर्न माग गरिएको छ ।
आवासीय चिकित्सकहरुले ‘स्वास्थकर्मीकालागि सुरक्षित कार्यस्थल संघर्ष समिति’ गठन गरी देशैभर आन्दोलन गरेका छन् ।
सोही अनुसार काठमाण्डौंमा स्वास्थ्य मन्त्रालय अगाडी प्रदर्शन गरिएको छ भने पोखरामा जिल्ला प्रशासन अगाडी २ घण्टा प्रदर्शन गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीसमक्ष ज्ञापनपत्र बुझाएपछि आयोजित कोणसभामा सरकारी अस्पतालका चिकित्सकहरुले पनि आन्दोलनमा ऐक्यबद्धता जनाएका छन् ।
काठमाण्डौंमा सम्भवतः आज स्वास्थ्यमन्त्रीसँग वार्ता हुने र नेपाल मेडिकल एशोसिएशनले सर्कूलर जारी गर्नेछ ।
२४ घण्टाभित्र माग पुरा नभए भोलीदेखि निजी अस्पतालको बहिरंग विभाग (ओपीडी) सेवा बन्द गर्ने चिकित्सकहरुले जनाएका छन् ।
हाल सरकारी आवासीय चिकित्सकहरुले आठौं तहको अधिकृतसरह ४८ हजार रुपैयाँ पाउँदै आएका छन् भने निजीका चिकित्सकहरुले १७ देखि २२ हजार रुपैयाँसम्म पाउने गरेका छन् ।
आवासीय भएकाकारण चिकित्सकहरु अस्पताल परिसरमै पूर्णकालीन रहनुपर्छ । फलतः उनीहरुले बाहिर प्राक्टिस गर्ने वा आय आर्जन गर्ने सुविधा पाउँदैनन् ।
संघर्ष समितिका अनुसार देशभर ५ हजारको हाराहारीमा आवासीय चिकित्सक रहेका छन् ।