नयाँलिपिः भूतपूर्व खेलाडी मञ्च, पोखराले स्थापनाको २५ वर्ष पुगेको अवसरमा ‘रजत वर्ष कार्यक्रम’ घोषणा गरेको छ ।
रजत वर्षलाइ भव्यताकासाथ मनाउने योजना अनुसार ‘१२ महिना, १२ कार्यक्रम’ घोषणा गरेको मञ्चका अध्यक्ष दिलबहादुर गुरुङले जानकारी दिएका छन् ।
रजत वर्ष महोत्सवको सुरूवात गर्न स्थापना दिवसकै दिन आयोजित कार्यक्रममा प्रमुख अतिथि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यले मञ्चले पोखराको खेलकुदको क्षेत्रमा अतुलनीय योगदान गरेको बताए ।
आचार्यले पोखरा अन्तर्राष्ट्रिय म्याराथनले एक उचाई प्राप्त गरेको बताउँदै नेपाल भूतपूर्व खेलाडी मञ्चसंगको सहकार्यलाई अझै दिगो बनाएर अघि बढ्ने बताए ।
महानगरभित्र रहेका केही संस्थाहरुले महानगरको गौरव बढाउन महत्वपूर्ण भूमिका खेलेको बताउँदै त्यस मध्येको एक नेपाल भूतपूर्व खेलाडी मञ्च र सहारा क्लव रहेको मेयर आचार्यले उल्लेख गरे ।
उनले यी दुई संस्थाले गरेका कार्यक्रम पोखराको गौरव बढाउन समेत उत्तिकै योगदान रहेको जनाउँदै भने–“आफ्नो जिवनको अवकाशको समयमा घरमा नै बसेर रमाउने बेला समेत पूर्व खेलाडीहरुले खेलकुद र समाजको विकासका लागि जुन योगदान दिनु भएको छ । त्यसको जति प्रशंसा गरे पनि कम हुन्छ ।”
मञ्चका अध्यक्ष गुरूङको अध्यक्षतामा भएको कार्यक्रममा लक्ष्मी ग्रुपका अध्यक्ष एवं पोखरा अन्तर्राष्ट्रिय म्याराथनका सहयोगी गणेशबहादुर श्रेष्ठले भूतपूर्व खेलाडी मञ्च संग सहकार्य गर्न पाउनु आफ्नो संस्थाको लागि समेत उत्तिकै गौरवको विषय रहेको जनाउँदै आगामी दिनमा समेत सहकार्यलाई निरन्तरता दिने बताए ।
कार्यक्रममा संस्थापक अध्यक्ष खड्गबहादुर रानभाट, पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष एवं मञ्चका सल्लाहकार गोकर्ण कार्की, नेपाल खेलकुद पत्रकार मञ्चका अध्यक्ष एमबी आस्था, मञ्चका प्रथम उपाध्यक्ष खेमबहादुर गुरूङ, कोषाध्यक्ष हरि बरुवालले समेत आफ्ना भनाई राखेका थिए ।
सम्पन्न कार्यक्रममा मञ्चका पूर्व अध्यक्ष एवं मासिकरसाप्ताहिक दौडका परिकल्पनाकार तेजबहादुर गुरूङले पोखरालाई दौडै-दौडैको शहरको रुपमा स्थापित गर्न मासिक÷साप्ताहिक दौड अघि बढाएको बताए ।
उनले कठिन समयमा नेपाली खेलाडीहरुलाई एक जुट बनाउने अभियानले नै आजको यो बाटो तय भएको जनाउँदै अब मञ्चका गतिविधिले निरन्तरता पाउने उल्लेख गरे ।
रजत महोत्सवका अवसरमा वर्षभरी नै ८ देखि १२ र १३ देखि १६ वर्ष उमेर समुहको छात्ररछात्रा मासिकरसाप्ताहिक दौडलाई निरन्तरता दिइने अध्यक्ष गुरुङले जनाएका छन् ।