पोखरामा २० हजार भूमिहीन, तीन वर्षभित्र जमिन उपलब्ध गराउने आयोगको योजना

santan ads

नयाँलिपिः भूमि समस्या समाधान आयोग, जिल्ला समिति कास्कीको तथ्यांकमा पोखरा महानगरपालिकाभित्र २० हजार ६४ भूमिहीन छन् ।

उल्लेखित संख्यामध्ये भूमिहीन दलित ३ हजार ५३२, भूमिहीन सुकुम्बासी ४ हजार २०८ र अव्यवस्थिथ बसोबासतर्फ १२ हजार ३२४ रहेका छन् ।

आयोगले हाल गरिरहेको कामका विषयमा जानकारी गराउन र सम्बन्धित निकायमा रहेका जनशक्तिलाई अभिमुखिकरण गर्न पोखरामा कार्यक्रम गरी उक्त जानकारी दिएको हो ।

आयोगमा विज्ञ सदस्य रहेका जगत बस्नेत (पीएचडी)ले अहिलेका जनप्रतिनिधिले अबको ३ वर्षमा भूमिहीनलाई लालपुर्जा उपलब्ध गराएर ऐतिहासिक काम गर्न सक्ने बताए ।

‘देशमा कोही पनि सुकुम्बासी नहुन् भनेर सरकारले आयोगमार्फत काम गरिरहेको छ’ विज्ञ बस्नेतले भने ‘अब ३ वर्षको कार्यकालभित्र लालपुर्जा बाँडेर तपाइहरुलाई इतिहासमा नाम लेखाउन अवसर छ ।’

देशभर करिब १३ लाख भूमिहीन भएको जानकारी गराउँदै उनले वर्षाैदेखिको यस समस्यालाई सल्टाउन सम्पूर्णमा अनुरोध गरे । ‘राज्यमा कोही पनि भूमिहीन नहोउन् भनेर आयोग स्थापना गरिएको हो, तपाईहरु दत्तचित्त भएर काम गर्नुहोस्’ उनले भने ।

कास्की र पोखरामा आयोग र स्थानीय सरकारको गति केही सुस्त रहेको उनले प्रष्ट्याए ।

पोखरामा २ वर्ष अघि भूमि आयोग र महानगरपालिकाद्वारा १६ वटा वडाका एक सय ९९ भूमिहीन दलित र भूमिहीन सुकुम्बासीलाई सेतो पुर्जा (निस्सा) वितरण गरिएको थियो ।

वडा नं १, ३, ७, ८, १०, ११, १६, १८, १९, २२, २३, २४, २८, २९ र ३१ का सुकुम्बासीले प्रतिनिधिमूलकरूपमा निस्सा पाएका थिए । यसअघि महानगरको वडा नं २५, ६, ९, १४, ३२ र ३३ मा निस्सा वितरण गरिएको थियो ।

हाल आयोग कास्कीका अध्यक्ष बैनबहादुर गुरुङले अब सेतो पुर्जा वितरणका कामहरुले गति लिने र बाँकी रहेका निवेदनउपर अध्ययन गरी आयोगको सर्भरमा सूचीकृत गर्ने बताएका छन् ।

कास्कीमा २१ हजार ४९१ भूमिहीन रहेका छन् । जसमध्ये अन्नपूर्ण गाउँपालिकामा ७ सय ६०, माछापुच्छ्रेमा ६ सय ६६ र मादीमा १ जना रहेका छन् ।

रुपा गाउँपालिकाबट भने भूमिहीनको दर्ता छैन । जिल्लामा ३९ भूमिहीन दलित र भूमिहीन सुकुम्वासीले रातो लालपुर्जा प्राप्त गरिसकेको आयोगले उल्लेख गरेको छ ।

Scroll to Top