गण्डकी प्रदेशमा पर्यटकले भोगेका समस्या र चुनौतीबारे अध्ययन, ६ उत्कृष्ट सुझाव

santan ads

दिपक के श्रेष्ठः नेपाल राष्ट्र बैंक, पोखरा कार्यालयले गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकहरुको विविध पाटोमाथि अध्ययन, अनुसन्धान गरी प्रतिवेदन तयार पारेको छ ।

अध्ययनमा राष्ट्र बैंक, पोखरा कार्यालयका उपनिर्देशक नबिना ढकाल र रञ्जना शर्मा, सहायक निर्देशक दलबहादुर थापालगायतको संलग्नता रहेको निर्देशक बिना ढकाल पौडेलले जनाएकी छिन् ।

यस अध्ययनका क्रममा गण्डकी प्रदेशमा आउने पर्यटकहरुले विभिन्न समस्याहरु जस्तै भाषागत समस्या, पर्यटन सुचनाको कमी, यातायातको समस्या, सुरक्षाको समस्या इत्यादि भोग्नु परेको देखिएका उल्लेख छ ।

सर्वेक्षणमा केही पनि समस्या अनुभव नगरेका पर्यटकहरु सबैभन्दा धेरै २८.४१ प्रतिशत पाइएको छ भने यातायातको समस्या भोगेका पर्यटक २३.११ प्रतिशत, भुक्तानीको समस्या भोगेका पर्यटकहरु १५.३४ प्रतिशत रहेको उल्लेख छ ।

त्यस्तै, भाषागत समस्याहरु पाएका पर्यटकहरु १२.३१ प्रतिशत रहेको पाइएको छ । पर्यटकहरुले अन्य समस्याहरु जस्तै फोहोरको अव्यवस्थापन, उच्च भिसा लागत, ठगी, इन्टरनेटको समस्या, धर्मशालामा बस्ने कोठाहरुको कमी, विमानस्थलमा लामो समय कुर्नु परेको समस्या, पूर्वाधारको कमी लगायतका समस्याहरु भोग्नु परेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।

सर्वेक्षणमा संलग्न गण्डकी प्रदेश भ्रमण गर्ने पर्यटकहरूको नेपालमा औसत बसाई अवधि २२ दिन रहेको पाइयो भने गण्डकी प्रदेशमा औसत बसाई अवधि १२ दिन रहेको जनाइएको छ ।

उक्त सर्वेक्षणमा संलग्न पर्यटकहरुको नेपालको औसत बसाईको तुलनामा गण्डकी प्रदेशको औसत बसाई ५४.५५ प्रतिशत रहेकाले पर्यटकीय गतिविधिहरु थप गर्नुका साथै आवश्यक पूर्वाधारको विकास गरी बसाई अवधि लम्ब्याउन सकिने सुझाव दिइएको छ ।

अध्ययनबाट गण्डकी प्रदेशमा भ्रमण गर्ने पर्यटकहरुको भारित औसत दैनिक खर्च रु ८,३५५.२९ (अमेरिकी डलर ६२.८९) रहेको पाईएको छ ।

औसत दैनिक खर्चलाई खर्चगत रुपमा विश्लेषण गर्दा पर्यटकहरुले सबैभन्दा बढी खर्च खानामा २८.२२ प्रतिशत र सबैभन्दा कम खर्च अन्य गतिविधिका लागि १.०६ प्रतिशत गरेको उल्लेख छ ।

साथै, बसाईमा २७.६ प्रतिशत, यातायात खर्चमा २१.७ प्रतिशत, मनोरञ्जनमा १२.३ प्रतिशत, किनमेलमा ५.७७ प्रतिशत, कर २.२४ प्रतिशत, धार्मिक खर्च १.११ प्रतिशत खर्च हुने देखिएको छ ।

प्रतिवेदनमा समेटिएका सुझाव यस्ता छन्ः
 यस प्रदेशमा आउने पर्यटकहरुले खानपिन र बसाईमा बढी खर्च गर्ने देखिएकाले नेपालको मौलिकता झल्किने खानपान तथा संस्कृतिमा जोड र सोको गुणस्तरमा अभिवृद्धि गर्नुका साथै होटलहरुको पहुँच तथा स्तर उन्नतिमा जोड दिनुपर्ने देखिएको छ ।

त्यसैगरी सम्भाव्य पर्यटकीय गन्तव्यहरुको पहिचान, विविध मनोरञ्जनात्मक क्रियाकलापको पहिचान, थप पदमार्गहरुको पहिचान, सुलभ यातायात सेवा, आध्यात्मिक पर्यटनमा जोड, पर्यटकीय क्षेत्रहरुमा हस्तकला तथा नेपालमा नै उत्पादित सामानहरुको प्रदर्शनी आदिमा जोड दिन सकेमा पर्यटकको दैनिक औसत खर्च र बसाई अवधि बढाउन सकिने देखिन्छ ।


 यस अध्ययनमा ४६.८८ प्रतिशत पर्यटकहरुले अन्तर्राष्ट्रिय ट्राभल कम्पनीमार्फत प्याकेज लिएर आउने गरेको देखिएको छ । पर्यटकहरुले अन्तर्राष्ट्रिय ट्राभल कम्पनीमार्फत प्याकेज लिनु भन्दा राष्ट्रिय ट्राभल कम्पनीमार्फतको प्याकेज लिदाँ धेरै विदेशी मुद्रा भित्र्याउन सकिने भएकाले नेपाल सरकार तथा सरोकारवाला निकायले राष्ट्रिय ट्राभल कम्पनीका प्याकेज सम्बन्धमा प्रवद्र्धनात्मक क्रियाकलापमार्फत् जोड दिन सकेमा देशमा विदेशी मुद्राको आप्रवाह बढाउन सहयोग पुग्ने देखिन्छ । साथै, यसबाट राजश्व वृद्धि पनि गर्न सकिन्छ ।


 अध्ययनमा गण्डकी प्रदेशमा पर्यटकहरुको औसत बसाई १२ दिन मात्र देखिएकाले बसाइ अवधि थप बढाउनुका लागि पर्यटकीय गतिविधिहरु बढाउनुपर्ने देखिन्छ ।


 यस अध्ययनमा २३.११ प्रतिशत पर्यटकहरुले सडकको समस्या, १५.३४ प्रतिशत पर्यटकहरुले भुक्तानीको समस्या, ६.४४ प्रतिशत पर्यटकहरुले पर्यटन सूचनाको कमी समस्या देखाएकाले नेपाल सरकार तथा सम्वद्ध निकायले सडक लगायतका पूर्वाधारहरुको विकासमा जोड दिनुपर्ने देखिएको छ । यसैगरीसमस्त सरोकारवाला निकायले भुक्तानीका लागि अन्तरदेशीय कार्डहरु प्रयोगको लागत कम गर्ने व्यवस्था मिलाउनु पर्ने देखिएको छ ।


 यसको अलावा, पर्यटन मन्त्रालय एवम् पर्यटन कार्यालयहरुले पर्यटकहरुलाई आवश्यक पर्यटकीय सूचनाहरुको उचित व्यवस्था गर्नुपर्ने देखिन्छ । साथै, पर्यटकहरुको आर्थिक एवम् भौतिक सुरक्षाका लागि नेपाल सरकारले विशेष ध्यान दिनु पर्ने देखिन्छ ।


 यस अध्ययनमा ३२ प्रतिशत पर्यटकहरु गण्डकी प्रदेशमा दोहोरिएर भ्रमणमा आउने गरेको देखिएकाले अझ बढी पर्यटकहरु दोहोरिएर आउने अवस्था सृजना गर्नका लागि नेपाल सरकारले पर्यटन प्रवद्र्धनमा जोड दिनु पर्ने देखिन्छ । साथै, अध्ययनको क्रममा अफ्रिकी महादेशबाट यस प्रदेशमा पर्यटकहरुको आगमन नपाइएकाले अन्तर्राष्ट्रियस्तरमा प्रचार प्रसार वृद्घि गर्नुपर्ने देखिएको छ ।

Scroll to Top