राप्रपाले आज निषेधित क्षेत्र तोड्ने, सुरक्षा चुस्त पारिने

santan ads

नयाँलिपिः राजसंस्था पुनस्र्थापना र पक्राउ परेका आफ्ना नेताहरूको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

राजसंस्था र हिन्दूराष्ट्र पुनःस्थापना तथा तीनकुनेको प्रदर्शनमा पक्राउ परेका पार्टीका नेताहरूको रिहाइको मागसहित राप्रपाले प्रदर्शन गर्न लागेको हो ।

राप्रपाले निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेपछि सुरक्षा व्यवस्था चुस्त पारिएको छ । आन्दोलनका कार्यक्रम अन्तर्गत वैशाख ९ गते सबै जिल्लामा धर्ना, सभा र विरोध कार्यक्रम आयोजना गर्ने निर्णय राप्रपाको छ ।

पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र र महामन्त्री धवल शम्शेर राणालगायत चैत १५ गते तीनकुने क्षेत्रमा भएको प्रदर्शनका क्रममा पक्राउ परेकाहरूलाई रिहाइ गर्नुपर्ने राप्रपाको माग छ ।

राजसंस्था पुनस्र्थापनाका लागि गठित ‘संयुक्त जनआन्दोलन समिति’ पनि राप्रपाको प्रदर्शनमा सहभागी हुने भएको छ । कार्यवाहक संयोजक डा।जगमान गुरुङले विज्ञप्ति जारी गर्दै राप्रपाको आइतबारको प्रदर्शनमा सहभागी हुन जानकारी दिएका छन् ।

गृह मन्त्रालयले भने राप्रपाले आइतबार निषेधित क्षेत्रमा प्रदर्शन गर्ने निर्णय गरेको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । मन्त्रालयले शनिबार एक विज्ञप्ति जारी गर्दै संविधान र कानूनको ठाडो उल्लंघन गर्न प्रोत्साहित गर्ने र समाजमा अराजकता फैलाउने कुनै पनि गतिविधि सह्य नहुने स्पष्ट पारेको छ ।

यस्तो गतिविधिमा संलग्न हुने जो सुकैलाई कानून बमोजिम कारबाही हुने मन्त्रालयले चेतावनी दिएको छ ।

Scroll to Top