काठमाडौं । नेपाल सुपर लिग (एनएसएल) २०२५ को एलिमिनेटरमा आज एफसी चितवन र पोखरा थण्डर्सबीच भिड्दैछ ।
लिग चरणमा चितवन तेस्रो र पोखरा चौथो हुँदै प्लेअफमा प्रवेश गरेका थिए । एलिमिनेटरको विजेता दोस्रो क्वालिफायरमा पुग्नेछ भने पराजित हुने टोली बाहिरिनेछ । त्यसैले दुवै टोली आगाको खेल जित्दै एनएसएल यात्रा कायम राख्ने योजनामा हुनेछ ।
आजको खेल दुवैको लागि महत्वपूर्ण हुनेछ । चितवन एनएसएलमा पहिलोपटक प्लेअफमा पुगेको हो र यो पहिलो नकआउट खेल हुनेछ ।
पोखरा भने लगातार दोस्रोपटक प्लेअफ खेल्न लागेको हो । दोस्रो संस्करणमा लिगमा शीर्ष स्थानमा रहे पनि पोखरा दुवै क्वालिफायर हार्दै बाहिरिएको थियो ।
चितवनका प्रशिक्षक नवीन न्यौपानेका लागि आफ्नो पूर्व टिमविरुद्ध यो दोस्रो भिडन्त हुनेछ ।
यसअघि लिग चरणमा चितवनले पोखरालाई २-० ले पराजित गरेको थियो । चितवन त्यही प्रदर्शनलाई कायम राख्न चाहन्छ भने पोखरा बदला लिने योजनामा छ । खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालमा साँझ ६ बजे सुरु हुनेछ ।