पोखरा । वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ (MBBS, MD, DM, FESIT) धर्मागत भट्टराईबाट गण्डकी प्रदेशमै पहिलो पटक पोखरा आउने भएका छन् । भट्टराई नेपाल कै एकमात्र वरिष्ठ प्रतिरक्षा तथा बाल बाथरोग विशेषज्ञ बताईएको छ ।
पोखरा क्लिकको आयोजना, पोखरा नयाँबजारमा सञ्चालनमा आउँदै रहेको म्याक्स सुपर स्पेसियालिटी हस्पिटलको प्राविधिक सहयोग र पोखरा ९ को समन्वयमा सञ्चालन हुने निःशुल्क स्वास्थ्य शिविर तथा परामर्शका लागि भट्टराई पोखरा आउन लागेका हुन् । उनले यही वैशाख १३ गते शनिबार बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म बिरामी जाँच एंव परामर्श दिने आयोजकले जनाएको छ ।
प्रतिरक्षा तथा बाल बाथरोगको पहिचान गर्नमा समस्या, पहिचान पछि निदानमा उस्तै समस्या रहेकाले गण्डकी प्रदेशका जनसमुदायलाई यो रोगका बारेमा केही सुसूचित गर्न सकियो भने आगामी दिनमा यस्ता रोगका बिरामीले समयमै उपचार पाउँदा परिवार र समुदायलाई आर्थिक तथा मानसिक हिसाबले सहज होस् भन्ने अभिप्रायले भट्टराईलाई पोखरामा ल्याएर शिविर सञ्चालन गरिएको सञ्चार गृहका अध्यक्ष दीननाथ बरालले जानकारी दिए ।
शिविर पोखरा नयाँबजारमा अवस्थित दृष्टि आँखा हस्पिटल परिसरमा हुनेछ ।