नयाँलिपिः पूर्वसंस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले आफ्नै पालामा नियुक्त भएका नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार पात्रकारूपमा आरोप लगाएका छन् ।
सामाजिक सञ्जालमा लेख्दै पूर्वमन्त्री आलेले अधिकारीद्वारा गरिएको गम्भीर अनियमितता र दुराचारबाट जनध्यान हटाउने नियोजित प्रयास भएको बताउँदै अधिकारी नेपाली उड्डयन इतिहासका सम्भवतः सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार पात्रको रूपमा व्याख्या गरेका हुन्।
उनले लेखेका छन्, ‘पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल अध्ययन अनुगमन उपसमिति “संघीय संसदको लेखा सम्बन्धी समिति” बाट भएको अनुसन्धानपछि अनलाइन तथा विभिन्न प्रकाशित हालको समाचारहरू नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीद्वारा गरिएको गम्भीर अनियमितता र दुराचारबाट जनध्यान हटाउने नियोजित प्रयास हो। अधिकारी नेपाली उड्डयन इतिहासका सम्भवतः सबैभन्दा भ्रष्ट र गैरजिम्मेवार पात्र हुन्।’
यस्तै उनले उक्त संवेदनशील विषयमा विभिन्न सञ्चार माध्यमबाट यस्ता हेरफेर गर्नु अत्यन्त गैरजिम्मेवार कार्य भएको बताए। उनले यो संसदीय प्रक्रिया र जनताको सूचनाको अधिकारमाथिको खुला हस्तक्षेप भएको पनि बताए।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले धनगढी विमानस्थलमा आलेको निर्देशनमा भ्रष्टाचार भएको भन्ने उजुरी अख्तियारमा परेपछि छानबिन थालेको छ ।