नयाँलिपिः भदन भण्डारी स्पोट्र्स एकेडेमीको आयोजनामा पोखरा रंगशालामा आयोजित दोस्रो संस्करणको केपी ओली कप टी–२० राष्ट्रिय खुल्ला पुुरुष क्लब स्तरीय क्रिकेट प्रतियोगिताको फाइनल खेलमा सिइसी काठमाडौंलाई ५ विकेटले हराउँदै गण्डकी हिरोज च्याम्पियन बनेको छ ।
च्याम्पियन गण्डकीले दश लाख रुपैयाँ प्राप्त गर्दा उपविजेता काठमाडौंले पाँच लाख रुपैयाँ प्राप्त गरेको छ ।
१८३ रनको विजयी लक्ष्य पाएको गण्डकीले १७।३ ओभरमा ५ विकेट गुमाउँदै १८५ रन बनायो । गण्डकीका बसन्त कार्की २७ र नारायण जोशी १३ रनमा नटआउट रहँदै टोलीलाई जित दिलाए । बसन्तले १७ बलमा ३ छक्का प्रहार गरेभने, नारायणले १० बलमा १ छक्का प्रहार गरे ।
किरण ठगुनाले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेल्दै आउट भए । उनले २६बलमा ३ चौका र ४ छक्का प्रहार गरे । सुजन थपलिया ३५ रनमा अउट भए । उनले २१ बलमा ६छक्का प्रहार गरे । दिपक डुम्रे २६रनमा अउट भए । उनले १५ बलमा २ चौका र २ छक्का प्रहार गरे ।
ओपनर साकिव हुकले २४ रन बनाए । उनले १५ बलमा ५ चौका प्रहार गरे । अर्जुन कुमाल शुन्यमै पेभिलियन फर्किए ।
काठमाडौंका लागि दिपेन्द्र रावतले ३ विकेट लिदाँ मनोज यादव र सूर्य तामाङले १–१ विकेट लिए । त्यसअघि टस जितेर ब्याटिङ थालेको काठमाडौंले १९।४ ओभरमा १८२ रन बनाउँदै अलआउट हुन पुग्यो ।
अर्जुन घर्तीले ६८ रनको उत्कृष्ट पारी खेल्दै क्याचआउट हुन पुगे । उनले ३४ बलमा ४ चौका र ६ छक्का प्रहार गरे । यस्तै पृथु बास्कोटाले अर्धशतकीय पारि खेल्दै आउट भए । उनले २९ बलमा ७ चौका र २ छक्काको मद्धतमा अर्धशतक बनाए ।
सिवम तिवारीले २३ रन जोड्नु बाहेक अन्य ब्याटरले दोहोरो अंक जोड्न सकेनन् । रित गौतम ४, दिपेन्द्र रावत ४, सुशान्त सिंह थापा ६, राजेन्द्र बम १, दिनेश बोहोरा ८, सूर्य तामाङ ३ र युनिश विक्रम सिंह ठकुरी १ रनमा आउट भए ।
गण्डकीका लागि अमृत गुरुङ र कृष्ण पौडेलले समान ३–३ विकेट लिए भने विपिन खत्री र मिलन बोहोराले २–२ विकेट लिए । गण्डकी हिरोजका किरण ठगुना प्लेयरअफ दी म्याच घोषित भए ।
यस्तै काठमाडौंका दिपेन्द्र रावत प्लेयर अफ दी टुर्नामेन्ट घोषित भए । उनले ३० हजार रुपैयाँ प्राप्त गरे । उत्कृष्ट ब्याटर अत्तरियाका विपिन रावल र उत्कृष्ट बलर लुम्बिनीका अजय कुमार चौहान घोषित हुँदै समान २०–२० हजार रुपैयाँ प्राप्त गरे ।
प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले खेलकुदको विकासका लागि आफुले संस्दमा आवश्यक पहल गर्ने सुनाए । उनले खेलको विकासका लागि राज्यको सहयोग अत्यावश्यक रहेको सुनाउँदै खेलको भावनाअनुसार लाग्न अनुरोध गरे । एकेडेमीका अध्यक्ष ध्रुव आचार्यले अब एकेडेमीले आफ्नै क्रिकेट टिम बनाउने बताएका छन् ।
चैत २३ गतेबाट सुरुभएको प्रतियोगितामा कुल १६टिमको सहभागिता थियो । बागमतिबाट ४ र अन्य प्रदेशबाट २–२ वटा क्लबको सहभागिता रहेको थियो ।
