उपप्रा. लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य)
मेषः
मेष राशिलाई नयाँ वर्ष २०८२ सालकाे प्रारम्भिक समय उत्साहप्रद रहनेछ। बृहस्पतिको अनुकूलताले विद्यार्थीहरूलाई विशेष फाइदा हुनेछ। मिहिनेत गर्दा स्वरोजगार बन्न सफल भइनेछ। कर्मक्षेत्रमा मध्यम उपलब्धि हातलागी हुनेछ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य सुख प्राप्त हुने ग्रहयोग छ। आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। आँटले काम लिँदा मनग्य फाइदा हुनेछ। विभिन्न अवसर प्राप्त हुनेछन्। तर वर्षभरि शनिको आद्य साढेसाती चल्ने हुँदा काममा केही अवराेध आउनेछन् र उपलब्धिमा कमी आउनेछ।
स्वास्थ्यमा शिर तथा नसा–जोर्नीसम्बन्धी समस्याले सताउन सक्छ। जन्मसमयमा प्रतिकूल शनि हुनेहरूलाई काममा ढिलासुस्ती, आफन्तमा वैरभाव, परिवारमा मतभेद झुटा आरोप, यात्रामा कष्ट जस्ता समस्या देखापर्नेछन्। खर्चभावमा शनिकाे उपस्थितिले आर्थिक क्रियाकलापमा मन्दी आउनेछ, कर्जा बढ्नेछ र खर्च धान्न मुश्किल पर्नेछ। नाेकरी तथा राजनीतिमा समेत केही समस्या आउन सक्छन्। पहिलेका उपलब्धि जाेगाउन अतिरिक्त काम र मेहनत गर्नुपर्ला। राहु जेठदेखि आयभावमा सर्ने हुँदा आयआर्जनका नयाँ स्राेत फेला पर्नेछन्। राहु अनुकूल हुनाले भौतिक सुख–सुविधा प्राप्त हुनेछन्। प्रतिस्पर्धीहरूलाई उछिन्दै सम्मानित स्थान हासिल गर्न सकिनेछ। केही संघर्ष गर्नुपरे पनि नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त हुनेछ। व्यापार, नोकरी तथा ठेक्कापट्टाबाट फाइदा उठाउन सकिनेछ। विशेष यन्त्र, उपकरण तथा सवारीसाधन जुटाउने समय छ। कृषि, पशुपालन र उद्योगतर्फ मनग्य फाइदा हुनेछ। राजनीतिमा गुमेकाे पद–प्रतिष्ठा पुनः प्राप्त हुनेछ।
केतुकाे प्रभावले पेटकाे आन्तरिक प्रणालीमा समस्या उत्पन्न गर्ने हुँदा स्वास्थ्यका लागि सदैव सावधान रहनुहाेला। प्रतिकूल ग्रहको दुष्प्रभावलाई कम गर्न समयमै ग्रहशान्ति गर्नुहोला। शनिवार पीपलमा जल चढाउनाले र काली भगवतीको नियमित पूजा–आराधना गर्नाले शनिदोष शान्त हुनेछ। राहु र केतुको प्रतिकूल प्रभावबाट बच्न बटुकभैरव र छिन्नमस्ता भगवतीको दर्शन–पूजा गर्नुहोला। तुलनात्मक रूपमा वैशाख, साउन, मंसिर र चैत महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने असार, असोज, माघ र फागुन महिनामा लाभ हुनेछ।
वृषः
वृष राशिलाई नयाँ वर्ष २०८२ सालमा उत्साहजनक प्रगतिका साथ विशेष उपलब्धि प्राप्त गर्न सफलता मिल्नेछ। सुरुमा बृहस्पतिको स्वाभिमानी प्रवृत्तिले व्यावहारिक समस्या निम्त्याए पनि जेठ लागेपछि सुल्झनेछन्। जेठदेखि देवगुरुको प्रभावले विद्या, बुद्धि बढ्नुका साथै अभिव्यक्ति र लेखन कलामा निखारता आउनेछ। प्रेम र मित्रताकाे बन्धन कसिलाे हुनेछ। घरमा माङ्गलिक कृत्यहरू सम्पादन हुनेछन्। भाग्यले असल जीवनसाथी जुराउने हुँदा गृहस्थीको बलियो जग बस्नेछ। समाजमा प्रतिष्ठित काम सम्पादन हुनुका साथै सानाे प्रयत्नले नाम, दाम र इनाम दिलाउन सक्छ।
आफ्नो अभियानमा शुभचिन्तकहरूले साथ दिनेछन्। आर्थिक समस्या सुल्झनेछ र भौतिक साधनसमेत जुटाउन सकिनेछ। वर्षभरि आयभावमा रहने शनिको प्रभावले लक्ष्यअनुसारको काम सम्पादन भई मनग्य आम्दानी हुनेछ। नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थान प्राप्त हुने बलियो सम्भावना छ। कृषि, पेसा–व्यवसाय, उद्योग, ठेक्कापट्टा, सेयर आदिमा प्रशस्त लाभ हुनेछ। विदेश ताक्नेहरूलाई यात्राको साइत जुर्न सक्छ। जुन क्षेत्रमा लागे पनि आर्थिक स्थितिमा सुधार ल्याउन सफल भइनेछ। जेठ लागेपछि कर्मभावमा जाने राहुकाे प्रभावले कर्मभन्दा अधिक फलकाे तृष्णा जगाउनेछ। यसले शक्तिकाे गलत उपयाेग हुन सक्छ। तत्काल उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुँदा धेरैको विरोधसमेत सामना गर्नुपर्ला।
पितामाता र अधिकारीवर्गसँग मतभेद बढ्नेछ। विवादास्पद कामले लाेकप्रय छविमा दाग लाग्न सक्छ। गृहसुखमा केतुको प्रभावले घरायसी समस्या बढ्नुका साथै आफन्तसँग असमझदारी बढ्ने सम्भावना देखिन्छ। छाती तथा पेटको समस्याले स्वास्थ्यबाधा निम्त्याउन सक्छ, समयमै सावधान रहनुहाेला। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा समस्याबाट छुटकारा मिल्नुका साथै लाभ मिल्नेछ। वटुक भैरव, छिन्नमस्ता र हनुमानजीको पूजा–आराधना गर्दा राहु र केतुजन्य दोषमा कमी आई फाइदा हुनेछ। तुलनात्मक रूपमा वैशाख, जेठ, भदौ र पुस महिना स्वास्थ्यका लागि प्रतिकूल रहनेछन् भने साउन, कार्तिक, फागुन र चैत महिनामा गरिएका प्रयत्नहरू विशेष लाभदायक रहनेछन्।
मिथुन
मिथुन राशिलाई २०८२ सालमा केही खर्चिला काम गर्नुपर्ने परिस्थिति आए पनि यात्रा, धर्मकर्म तथा मंगलकार्यका लागि धन खर्च गरिनेछ। खर्चभावका बृहस्पतिको प्रभावले फजुल खर्च नियन्त्रित हुनेछ। अध्ययनमा समय दिन नसकिए पनि अनुभवले ज्ञान आर्जन गर्ने अवसर प्राप्त हुनेछ। सानो लगानीले ठूलो उपलब्धि दिलाउन सक्छ। जेठदेखि शीर्षभावमा जाने बृहस्पतिले धैर्य एवं प्रतिबद्ध रहने गुण प्रदान गर्ने हुँदा अप्ठ्यारा परिस्थितिलाई पार लगाउँदै लक्ष्यको मार्ग अवलम्बन गर्न सफल भइनेछ। विद्यार्थीहरूमा तर्कशक्ति बढ्नेछ। अध्ययनले उचाइको बाटो समाउनेछ र प्रतिभाको उच्च मूल्यांकन हुनेछ।
धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। भाग्यले नयाँ पेसा–व्यवसाय जुराउनेछ। सन्तान, सहयोगी र शुभचिन्तकका माध्यमबाट अभीष्टसिद्धि हुनेछ। तर स्वाभिमानकाे रक्षा गर्न अनीति र बेथितिकाे प्रतिकारमा उत्रनुपर्दा अयोग्य र भ्रष्टहरूको निसानामा परिने सम्भावना छ। वर्षभरि कर्मभावमा रहने शनिको प्रभावले नयाँ कर्म तथा राेजगारीका अवसर प्राप्त हुनेछन्। सबै आकांक्षा पूर्ण नहुन सक्छन्। तर समय लागे पनि दिगाे काम थालनी हुनेछ र आंशिक उपलब्धि हातलागी हुनेछ। मिहिनेत गर्दा नाेकरीमा प्रवेश, पदाेन्नति तथा अनुकूल स्थान प्राप्ति हुनेछ। भाग्य एवं धर्म स्थानमा राहुकाे उपस्थितिले सामाजिक र धार्मिक कृत्यहरूमा बाधा उत्पन्न हुनेछ। सेवामूलक कर्ममा फलकाे आशा राख्नाले आलाेचित भइने सम्भावना छ, सजग रहनुहाेला।
राहुकाे शान्तिका लागि मन्त्रजप गर्न सकिन्छ। छिन्नमस्ता भगवती र वटुकभैरवकाे पूजा गर्दा प्रतिकूल दाेष शान्त हुनेछ। उद्याेग तथा पराक्रमभावमा केतुकाे उपस्थितिले नयाँनयाँ कर्ममा प्रवृत्त गराउनुका साथै उद्याेगधन्दामा लाभ दिलाउनेछ। मिहिनेतले वर्षभरि फाइदा दिनेछ। अग्रजहरूको सहयोग र सद्भाव प्राप्त हुनाले महत्त्वाकांक्षी काम प्रारम्भ गर्न सकिनेछ। समग्रमा याे वर्ष स्वास्थ्य राम्रै रहनेछ। लाेक–व्यवहारमा सामान्य उतारचढाव आए आर्थिक अवस्था मजबुत रहनेछ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। तुलनात्मक रूपमा जेठ, असार, असोज र माघ महिना अलि कष्टदायक रहनेछन् भने वैशाख, भदौ, मंसिर र चैत महिनामा विशेष अर्थलाभ हुनेछ।
कर्कट
कर्कट राशिलाई २०८२ काे वर्षारम्भ आसलाग्दो देखिए पनि बीचमा केही कठिनाइ र उतारचढाव देखापर्नेछन् भने मध्यान्तरपछि स्थितिमा केही सुधार आउनेछ। तर वर्षको अन्त्यतिर शक्तिक्षयका साथै स्वास्थ्य, कर्म र धनमा समस्या आउने सम्भावना छ। सुरुमा आयभावका देवगुरु र पराक्रमका केतु विशेष शुभफलदायी र लाभदायक रहनेछन्। तर जेठ लाग्नासाथ बृहस्पति खर्चभावमा र राहु विनाशभावमा जाने हुँदा सन्तोषजनक आर्थिक उपलब्धि नहुन सक्छ। फजुल खर्च, आर्थिक मन्दी र व्यावहारिक उतारचढाव देखापर्न थाल्नेछन् भने धेरैले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
विशेष गरी कर्जा लिएर काम गर्नेहरूलाई लगानी नउठ्ने चिन्ताले सताउन सक्छ। प्रतिकूल स्थानान्तरणले नाेकरीमा चुनौती देखापर्नेछ। विद्यार्थीहरूकाे अध्ययन र लेखनमा साेचेकाे उपलब्धि नहुन सक्छ। विदेश ताक्नेहरूलाई यात्रा सम्भावित देखिए पनि विदेशकाे बसाइ सहज नहुन सक्छ। राहु कष्टभावमा रहनाले शरीरमा चोटपटक, रोग, अर्थहानि, अवरोध, मानसिक चिन्ता जस्ता विघ्नबाधा आइरहनेछन्। धन तथा वाणीभावमा केतुको प्रभावले धन सञ्चयमा बाधा, आलोचना र वादविवाद निम्त्याउन सक्छ। भाग्यभावमा शनिकाे उपस्थितिले कार्यक्षेत्रमा गतिराेध आउनेछ। जन्मकुण्डलीमा प्रतिकूल शनि हुनेहरूलाई प्रगतिका मार्गहरू अवरूद्ध रहनेछन्। काम बीचैमा राेकिने र समयमा सम्पादन गर्न नसकिने अवस्था रहनेछ।
आफ्नाे कामबाट अरूले लाभ उठाउने चेष्टा गर्नेछन्। लामाे समय अरूका लागि उपयाेग भइनेछ। घर–परिवार तथा सन्तानका विषयमा केही चिन्ता बढ्नेछ। तापनि सद्विचारले प्रेरित हुनेहरूलाई त्याग र समर्पणको भावना जागृत हुनेछ। परोपकार तथा सत्कर्ममा धन उपयोग हुनेछ। प्रतिकूल समयमा पनि अनिष्ट ग्रहहरूको विधिवत् शान्तिकर्म र आफ्ना इष्टदेवको पूजा–आराधना गर्दा फाइदा हुनेछ। बृहस्पतिका लागि बगलामुखी र शिवजी तथा राहुका लागि वटुकभैरव र छिन्नमस्ताको दर्शन पूजा गर्नुहोला। शनिबाट शुभफल प्राप्त गर्न श्रीहनुमान् र काली भगवतीकाे आराधना गर्नुहाेला। वैशाख, जेठ, असोज र पुस महिना बढी लाभदायक रहनेछन् भने असार, साउन, कार्तिक र फागुन महिना कष्टदायी रहनेछन्।
सिंह
सिंह राशिलाई २०८२ सालमा आसलाग्दो मध्यम परिवेशबाट मध्यान्तरतिर केही संघर्षमय स्थितिमा अवतरित भइनेछ। तापनि प्रयत्न गर्दा विभिन्न अवसर प्राप्त भइरहनेछन्। सुरुमा कर्म र त्यसपछि लाभस्थानमा रहने देवगुरुकाे प्रभावले पेसा–व्यवसायमा विशेष फाइदा हुनेछ। आम्दानीका विभिन्न माध्यम फेला पर्नेछन्। मिहिनेतले नोकरीमा प्रवेश गराउन सक्छ। राजनीतिमा लाग्नेहरूलाई विशेष पद प्राप्त हुने सम्भावना छ। भाग्यले घर–जग्गालगायत स्थायी सम्पत्ति दिलाउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका साथै सुमधुर दाम्पत्य एवं सन्तान सुख प्राप्त हुने समय छ।
विद्यार्थीहरूका लागि याे वर्ष विशेष उपलब्धिमूलक रहनेछ। विदेश ताक्नेहरूलाई यात्राकाे साइत जुर्न सक्छ। सेयर तथा चल–अचल सम्पत्तिकाे काराेबारमा यथेष्ट लाभ मिल्नेछ। वर्षभरि कष्टभावमा रहने शनिको अढैया प्रभावले विभिन्न समस्यासँग जुध्नुपर्ने देखिन्छ। जन्मसमयमा प्रतिकूल शनि हुनेहरूलाई काममा ढिलासुस्ती, आफन्तमा वैरभाव, फजुल खर्च, झूटा आरोप, यात्रामा कष्ट जस्ता समस्या देखापर्नेछन्। कार्तिक र मंसिर महिनामा बृहस्पतिसमेत खर्चभावमा रहने हुँदा अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्नेछ। यस बीचमा स्वास्थ्य र धनको चिन्ताले सताउन सक्छ। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन खिन्न रहनेछ। बिनाकारण आफन्तजन टाढिन सक्छन्। दाम्पत्यभावमा राहुको उपस्थितिले घर–गृहस्थी असन्तुलित बन्न सक्छ।
घर–परिवारमा असमझदारी, मनमोटाव तथा बिछोडसमेत निम्त्याउने ग्रहयाेग रहेकाे हुँदा पतिपत्नीले मर्यादित व्यवहार गर्नुहाेला। आफ्ना कमजोरीमाथि खेल्नेहरू सक्रिय हुने हुँदा व्यवहारमा सदैव सजग रहनुहोला। प्रतिकूल शनि हुनेहरूले काली भगवतीको आराधना गरी प्रत्येक शनिबार पीपलमा जल चढाउनाले फाइदा हुनेछ। कमजोर राहु शान्तिका लागि छिन्नमस्ता भगवती र वटुकभैरवको पूजा–आराधना गर्नुहोला। यसबाहेक आफ्ना इष्टदेवको पूजा–आराधना गरी प्रतिकूल ग्रहहरूकाे जप–अनुष्ठान गर्दा पनि फाइदा हुनेछ। तुलनात्मक रूपमा जेठ, असार, कात्तिक र माघ महिनामा गरिएका प्रयत्नहरू विशेष फलदायी हुनेछन् भने साउन, मंसिर र चैत महिना आर्थिक दृष्टकाेणले अलि प्रतिकूल रहनेछन्।
कन्या
कन्या राशिलाई २०८२ सालमा अवसर र चुनौतीका शृंखला दोहोरिए पनि कर्मसाधनाबाट राम्रो आर्थिक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। बाटो बिराउँदा बीचमा केही अवरोध आए पनि दिगो काम थालनी हुनेछ र वर्षको उत्तरार्धमा लक्ष्य प्राप्ति हुनेछ। भाग्य र कर्मभावमा बृहस्पतिको अनुकूल प्रभावले महत्त्वाकांक्षी काम प्रारम्भ हनेछ। घरमा मंगलमय कार्य सम्पादन हुनेछन्। भाग्यले असल प्रेमपात्र जुराउनेछ भने एक्लो जीवनले घर–गृहस्थीको मार्ग अवलम्बन गर्ने बलियो सम्भावना छ। जेहेन्दार विद्यार्थीका लागि विशेष उपलब्धि प्राप्त हुनेछ। मिहिनेतले स्वरोजगार बन्न सफल भइनेछ।
नोकरीमा प्रवेश, पदोन्नति वा अनुकूल स्थानान्तरण हुने बलियो सम्भावना छ। पेसा–व्यवसायमा स्थापित भइनेछ र लक्ष्यअनुसारको काम गर्दै आर्थिक स्थितिमा सुधार ल्याउन सकिनेछ। तर स्वाभिमानका लागि सामाजिक संघर्षमा होमिनुपर्ने हुन सक्छ। अयोग्यहरूको स्वामित्व स्वीकार गर्न नसक्दा दुःख पाइनेछ। राहुको अनुकूल प्रभावले रोग, शत्रु र प्रतिस्पर्धीहरू परास्त हुनेछन्। विभिन्न भौतिक स्रोत–साधन जुटाउन सफल भइनेछ। यन्त्र–उपकरण र प्रविधिमा काम गर्नेहरूलाई विशेष फाइदा हुनेछ। राजनीतिमा लाग्नेहरूलाई पद–प्रतिष्ठा प्राप्त हुने बलियो सम्भावना छ। महत्त्वाकांक्षी योजनाहरू अघि बढ्नेछन् भने लामो समयदेखि अड्किएका काम पनि सम्पादन हुनेछन्। कृषि, नोकरी, व्यापार तथा अन्य पेसा–व्यवसायमा राम्रो लाभ हुनेछ।
खर्चभावमा केतुको उपस्थितिले केही रकम भने बाहिरिन सक्छ। फजुल खर्च बढ्ने र अरूले आफ्नो रकम दुरुपयोग गर्ने सम्भावना रहेकाले सजग रहनुहोला। दाम्पत्यभावमा रहने शनिको प्रतिकूलताले जीवनसाथीकाे बारेमा चिन्ता बढ्नेछ। जन्मकुणडलीमा शनि प्रतिकूल हुनेहरूलाई काममा विलम्ब, अध्ययनमा बाधा, स्वास्थ्यमा प्रतिकूलता र परिवारमा असमझदारी निम्त्याउने देखिन्छ। ग्रहकाे प्रतिकूल प्रभावबाट मुक्त हुन सम्बद्ध ग्रहकाे जप–अनुष्ठान गर्नुहाेला। वर्षभरि आफ्ना इष्टदेवता, श्रीहनुमान्, वटुकभैरव र काली भगवतीको उपासना गर्दा पनि फाइदा हुनेछ। असार, साउन, मंसिर र फागुन महिना विशेष लाभदायक रहनेछन् भने वैशाख, भदौ, असोज र पुस महिना अलि प्रतिकूल रहनेछन्।
तुला
तुला राशिलाई २०८२ सालमा ग्रहहरूको अनुकूल प्रभावले सामान्य परिवेशबाट विशेष अवसरको लाभ लिँदै उत्साहजनक सफलताको उचाइतर्फ आरोहण गर्ने समय छ। सञ्चित र आर्जित कर्मफलको उपयोग गर्दै जीवनशैलीमा परिवर्तन ल्याउन सफल भइनेछ। पहिलाे महिना केही संघर्षमय देखिए पनि जेठदेखि धर्मभावमा जाने बृहस्पतिको प्रभावले अध्ययनमा प्रगति हुनेछ र व्यावहारिक ज्ञानको उच्चता प्राप्त गर्न सफल भइनेछ। अध्ययन तथा रोजगारीका सिलसिलामा विदेश ताक्नेहरूलाई यात्राको अवसर प्राप्त हुनेछ भने स्वदेश फर्किनेहरूलाई उपयुक्त वातावरण बन्नेछ। मिहिनेतले बलियो नोकरीका साथै दाम, इनाम र प्रतिष्ठा दिलाउनेछ। भाग्यले मन मिल्ने प्रेमपात्र जुराउनुका साथै यो वर्ष लगनगाँठोसमेत कसिने बलियो सम्भावना देखिन्छ।
घरगृहस्थी सुखद् र आनन्दमय रहनेछ। रोकिएका धेरै काम सम्पादन हुनेछन्। धर्मकर्म, तीर्थाटन तथा परोपकारी काममा प्रवृत्त भइनेछ। यही वर्ष घर–परिवार र सन्तानसुखको योगसमेत रहेको छ। शनि र केतुकाे काे अनुकूल प्रभावले राेग र शत्रुमाथि विजय प्राप्त हुनेछ। आँटले काम लिनेहरूका लागि ठूलो अवसर प्राप्त हुनेछ। नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ। पुरानो कामधन्दा फस्टाउनेछ। गरेको कामले नाम, दाम र इनाम दिलाउनेछ। प्रारम्भको संघर्षले अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ। आम्दानीका नयाँ स्राेत फेला पर्नेछन्।
प्रतिस्पर्धीहरू परास्त हुनेछन् र सहयोगीहरूले साथ दिनेछन्। सन्तानभावमा रहेका राहुकाे प्रभावले सन्तानको भविष्यप्रति चिन्ता बढ्न सक्छ। राहुकाे प्रभावले वर्षभरि पेटको समस्याले सताउन सक्छ। परीक्षाकाे मुखमा अध्ययनमा व्यवधान हुनाले राम्रो नतिजा ल्याउन मुस्किल पर्नेछ। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या देखापर्न सक्छन्। प्रतिकूल समयमा ग्रहदेवताकाे विधिपूर्वक शान्तिकर्म गर्दा फाइदा हुनेछ। बटुकभैरव र छिन्नमस्ताको पूजा–आरधना गर्दा राहुको दोष शान्त हुनेछ। साउन, भदौ, पुस र चैत महिनामा विशेष सफलता मिल्नेछ। जेठ, असोज, कार्तिक र माघ महिना स्वास्थ्यका लागि अशुभ रहनेछन्।
वृश्चिक
वृश्चिक राशिलाई २०८२ सालमा आसलाग्दो परिवेशबाट शक्तिक्षयपछिका उतारचढाव पार गर्दै व्यावहारिक समस्यासँग जुध्नुपर्ने देखिन्छ। याे वर्ष अधिकांश ग्रहहरू प्रतिकूल हुनाले अध्ययन र धर्माचरणमा बाधा, स्वास्थ्यमा समस्या, साझेदारीमा झमेला, व्यापारमा हानि र नोकरीमा दुर्गम स्थानान्तरण जस्ता व्यवधान आउन सक्छन्। वैशाख, कार्तिक र मंसिर महिनामा देवगुरु अनुकूल हुनाले केही आसलाग्दा संकेतहरू देखापर्नेछन्। प्रियजनकाे माध्यमबाट केही उपलब्धि हातपार्न सफल पनि भइनेछ। तर जेठ लाग्नासाथ बृहस्पति कष्टभावमा जानाले काम रोकिनुका साथै लक्ष्य प्राप्त गर्न समस्या पर्नेछ।
परिबन्धको घेरामा परिनेछ भने व्यावहारिक समस्या सुल्झाउन ऋणको बोझ उठाउनुपर्ने हुन सक्छ। स्वास्थ्य प्रतिकूल रहनेछ। कामको बोझ बढ्नेछ र अध्ययनमा समय दिन नसकिने अवस्था रहनेछ। भाैतिक तथा बौद्धिक सम्पत्तिबाट अरूले फाइदा उठाउने चेष्टा गर्नेछन्। आत्मीयजनसँगको बिछोडले मन व्यथित हुनेछ। गृहसुखमा रहने राहु र पुत्रभावमा रहने शनिकाे प्रभावले मन अशान्त भइरहनेछ। परिवारमा द्वन्द्व, झूटा आरोप, अस्वस्थता, अर्थहानि, शत्रुबाधा, पशुधन हानि जस्ता विषम परिस्थितिसँग जुध्नुपर्नेछ। सुरुमा विश्वास जितेर ठग्नेहरूले सताउन सक्छन्। अनीति र अन्यायको सिकार हुँदासमेत आफन्तजन तथा शुभचिन्तकहरू मौन रहने हुँदा एक्लाे महसुस हुनेछ। आफ्नाे हक–भाेगबाट अरूले लाभ उठाउनेछन्। अंशीयारमा मतभेद, सगोलकाे सम्पत्ति र साझेदारीमा समस्या जस्ता विघ्नबाधा आउने देखिएकाले समयमा सावधान रहनुहोला।
जन्मकुण्डलीमा प्रतिकूल शनि हुनेहरूलाई पेटकाे समस्याले सताउन सक्छ। अध्ययन र यात्रामा अवराेध आउने भने बाध्यताका उल्झनमा परिनेछ। कर्मस्थानका केतुकाे प्रभावले आंशिक काम सम्पादन हुनेछन्। प्रतिकूल ग्रहहरूकाे मन्त्रजप तथा विधिवत् शान्तिकर्म गर्दा ग्रहदाेष शान्त भई फाइदा हुनेछ। आफ्ना इष्टदेवका साथै शिवजी, काली भगवती, वगलामुखी, वटुक भैरव र छिन्नमस्ताको पूजा–आराधना गर्दा पनि लाभ मिल्नेछ। वैशाख, भदौ, असोज र माघ महिनामा गरेका प्रयासहरू सकारात्मक रहनेछन् भने असार, कार्तिक र फागुन महिनामा अलि हानि हुन सक्छ।
धनु
धनु राशिलाई २०८२ सालमा पारिवारिक समस्याले केही अलमल र व्यावहारिक कठिनाइ देखिए पनि यो वर्ष उत्साहजनक उपलब्धि प्राप्त गर्न सफल भइनेछ। देवगुरु, राहु र केतुको अनुकूल प्रभावले नयाँ जिम्मेवारी प्राप्त हुनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ। पहिलाे महिना केही संघर्षमय रहनेछ तर जेठ लाग्नासाथ दाम्पत्यभावमा जाने देवगुरुकाे अनुकूल प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहनेछन्। भाग्यले असल प्रेमपात्र जुराउनुका साथै घर–गृहस्थी र सन्तान सुखको भागीदार भइनेछ। र, जीवनशैलीमा परिवर्तन आउनेछ।
दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। विद्यार्थीहरूका लागि समय उत्साहजनक रहनेछ। प्रयत्न गर्दा देशविदेशको यात्रा गर्ने अवसर जुट्नेछ। व्यापार र उद्योगले उचाइमा पुर्याउनेछ। आँटले काम लिनेहरूका लागि ठूलो अवसर प्राप्त हुनेछ। नयाँ उद्योग तथा व्यवसाय प्रारम्भ गर्न सकिनेछ। कृषितर्फ नयाँ प्रविधि र विशेष औजार भित्र्याउने समय छ। पुरानो कामधन्दा फस्टाउनेछ। गरेको कामले नाम, दाम र इनाम दिलाउनेछ। प्रारम्भको संघर्षले अन्त्यमा विशेष उपलब्धि प्राप्त हुनेछ। प्रतिस्पर्धीहरू परास्त हुनेछन् र सहयोगीहरूले साथ दिनेछन्। गृहसुखमा रहने शनिकाे अढैया प्रभावले वर्षारम्भदेखि नै चुनौतीपूर्ण जिम्मेवारी अँगाल्नुपर्ने देखिन्छ।
जन्मकुण्डलीमा प्रतिकूल शनि हुनेहरूलाई अर्थहानि, काममा बाधा, स्वास्थ्यमा प्रतिकूलता, परिवारमा असमझदारी, आफन्तमा मतभेद, सगोल र साझेदारीमा समस्या, घरेलु द्वन्द्व, काममा ढिलासुस्ती, आर्थिक मन्दी, घरजग्गा बन्धकी विघ्नबाधा आउनाले मन अशान्त रहनेछ। पेसा–व्यवसायमा यो वर्ष केही उल्झन र कम प्रतिफल प्राप्त हुने सम्भावना छ। प्रतिकूल ग्रहदोषबाट मुक्त हुन सम्बद्ध ग्रहको पूजा, जप, अनुष्ठान गर्नुहाेला। शनिका लागि काली र हनुमानको आराधनाका साथै शनिवार पीपलमा जल चढाउनाले फाइदा हुनेछ। तुलनात्मक रूपमा असार, कार्तिक, मंसिर र चैत महिना केही शुभफलदायी रहनेछन् भने वैशाख, भदौ र पुस महिनामा केही अभाव र संघर्ष झेल्नुपर्ने हुन सक्छ।
मकर
मकर राशिलाई कर्मक्षेत्रमा केही उतारचढाव देखिए पनि २०८२ सालमा सामान्य परिस्थितिबाट सफलता प्राप्त गर्न सकिनेछ। शनिको अनुकूल प्रभावले वर्षभरि विभिन्न अवसर प्राप्त भइरहने छन्। विशेष गरी वैशाख, कार्तिक र मंसिर महिनामा देवगुरुकाे अनुकूल प्रभावले परीक्षाकाे नतिजा राम्राे आउनेछ। दिगो फाइदा हुने काम प्रारम्भ हुनेछ भने नोकरीमा प्रवेश वा पदोन्नतिको योग छ। प्रयत्न गर्दा देश–विदेशको यात्रा गर्ने साइत जुर्न सक्छ।
उद्याेग तथा पराक्रम भावमा रहने शनि वर्षभरि अनुकूल हुनाले भौतिक सुख–सुविधा बढ्नेछ। नयाँनयाँ कर्म गर्ने अवसर प्राप्त भइरहनेछ। उद्याेग, कृषि, नोकरी तथा ठेक्कापट्टाबाट फाइदा उठाउन सकिनेछ। आवश्यक यन्त्र–उपकरण र सवारीसाधन प्राप्त हुने सम्भावना छ। सहयाेगी तथा अनुचरहरूकाे साथ–सहयाेगले काम लिँदा विशेष लाभ हुनेछ। जेठदेखि बृहस्पति शत्रु तथा प्रतिस्पर्धाकाे भावमा जाने हुँदा अप्ठ्यारा परिस्थिति सामना गर्नुपर्नेछ। स्वास्थ्य र धनमा समस्या आउनुका साथै पढाइचिन्ताले सताउन सक्छ। ईर्ष्या गर्नेहरूले शत्रुवत् व्यवहार गर्न थाल्नेछन्। काममा उल्झन र नोकरीमा अपजस प्राप्त हुनाले मन खिन्न रहनेछ। उद्देश्य प्राप्तिका लागि नीतिनियम मिचेर अघि बढ्नुपर्ने हुनाले धेरैको विरोधसमेत सामना गर्नुपर्ला।
गुरुजन र मान्यजनसँग मतभेद बढ्नेछ। आफ्ना कमजोरीमाथि खेल्नेहरू सक्रिय हुने हुँदा व्यवहारमा सजग रहनुहोला। राहु र केतु पनि यो वर्ष प्रतिकूल नै रहनेछन्। जेठदेखि राहुको प्रतिकूल प्रभावले वाणी तथा लेखनद्वारा व्यक्त विषय विवादास्पद बन्न सक्छ। अप्ठ्यारो समयमा आलोचकहरूले दुःख दिनेछन्। अनावश्यक काममा धनखर्च हुनेछ, समयमै सजग रहनुहोला। कष्टभावमा केतुको उपस्थितिले स्वास्थ्यमा बाधा, चोटपटक र अर्थहानि जस्ता समस्या देखापर्न सक्छन्। प्रतिकूल ग्रहहरूकाे प्रभावले दैनिकी संघर्षमय रहनेछ। ग्रहहरूकाे प्रतिकूल प्रभाव कम गर्न समयमै ग्रहदेवताको पूजा–अनुष्ठान गर्नुहोला। बृहस्पतिका लागि बगलामुखी र शिवजीको उपासना गर्नाले, राहु र केतुका लागि वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नाले फाइदा हुनेछ। असार, कार्तिक, मंसिर र चैत अनुकूल रहनेछन् भने वैशाख, भदौ र पुस महिना प्रतिकूल रहनेछन्।
कुम्भ
कुम्भ राशिलाई २०८२ सालमा संघर्षमय पृष्ठभूमिबाटै सफलताको उचाइतर्फ आरोहण गर्ने अवसर प्राप्त हुनेछ। व्यावहारिक उल्झनका बाबजुद राम्राे कर्मफल प्राप्त हुनेछ। भविष्यका लागि बलियो आधार बन्ने दिगो काममा प्रवृत्त भइनेछ। वर्षारम्भमा चुनौतीपूर्ण जिम्मेवारी आए पनि जेठदेखि देवगुरुकाे विद्याभावमा अनुकूल गाेचर हुनाले क्षमता प्रदर्शन गरेरै लक्ष्यतर्फ अग्रसर भइनेछ। बृहस्पतिकाे प्रभावले विद्यार्थीहरूमा जाेश–जाँगर बढ्नेछ र अध्ययनमा प्रगति हुनेछ। प्रयत्न गर्दा उपलब्धिमूलक कार्यको थालनी हुनेछ। मेहनतले सफलताको उचाइमा पुर्याउन सक्छ।
लोकप्रिय कामले नाम, दाम र सम्मान दिलाउनेछ। नोकरीमा प्रवेश, पदोन्नति तथा अनुकूल स्थानान्तरण हुने बलियो समय छ। उचित प्रेमप्रात्र जुर्नाले गृहस्थी मार्ग अवलम्बन गर्न सकिनेछ। सन्तानसुख समेत प्राप्त गर्ने योग रहेको छ। धार्मिक मनोवृत्ति बढ्नेछ। वर्षभरि धन तथा वाणीभावमा रहने शनिको अन्त्य साढेसाती दशा समेत रहेकाले आर्थिक क्रियाकलापमा मन्दी आउनेछ। कम आम्दानी, अत्यधिक खर्च, काममा विलम्ब, अवरोध, तीव्र आलोचना, अस्वस्थता जस्ता समस्याहरूसँग जुध्नुपर्ने समय छ। प्रतिस्पर्धीहरूले आफ्ना कमजोरीको फाइदा उठाउने चेष्टा गर्नेछन्।
शीर्षभावमा वर्षभरि राहुको उपस्थितिले चोट, चिन्ता, भय, कष्ट, आफन्तसँग असमझदारी, धनहानि, अभाव जस्ता प्रतिकूल प्रभाव सामना गर्नुपर्ने हुन सक्छ। गलत चिन्तन र प्रेमभावमा विकृति आउनाले प्रतिष्ठामा दाग लाग्न सक्छ। पिता–पुत्रमा व्यावहारिक प्रतिस्पर्धा हुन सक्छ। केतुकाे प्रभावले प्रेमसम्बन्धमा खटपटी र दाम्पत्यमा मतभेद देखापर्न सक्छ। यसले घर–गृहस्थी समेत प्रभावित बन्ने सम्भावना छ। जन्मकुण्डलीमा शनि, राहु र केतु प्रतिकूल हुनेहरूको पारिवारिक माहोल वर्षभरि कमजोर रहनेछ। अरूका समस्या सुल्झाउने प्रयत्न गर्दा आफ्ना समस्या बल्झिन सक्छन्। ग्रहदोषबाट मुक्त हुन प्रतिकूल ग्रहदेवताको आराधना गर्नुहाेला। शनिका लागि काली भगवती र श्रीहनुमान् तथा राहु र केतुका लागि बटुकभैरव र छिन्नमस्ता भगवतीको पूजा गर्नुहाेला। आर्थिक रूपमा वैशाख, साउन, मंसिर र पुस महिनामा बढी फाइदा हुनेछ। जेठ, असोज र माघ महिना अलि प्रतिकूल रहनेछन्।
मीन
मीन राशिलाई २०८२ साल केही उतारचढावमय रहनेछ। पारिवारिक समस्याले केही अलमल र व्यावहारिक कठिनाइ देखिए पनि वर्षकाे मध्यान्तरपछि स्थितिमा सुधार आउनेछ। हृदयभावका बृहस्पतिको प्रभावले चुनौतीपूर्ण जिम्मेवारी अँगाल्नुपर्ने देखिन्छ। आफन्तमा मतभेद, सगोल र साझेदारीमा समस्या, घरेलु द्वन्द्व जस्ता विघ्नबाधा आउन सक्छन्, सावधान रहनुहोला। प्रयत्न गर्दा विभिन्न अवसर पनि प्राप्त भइरहनेछन्।
कृषिकर्म, पशुपालन र व्यवसायमा फाइदा हुनेछ। मिहिनेतले नोकरीमा प्रवेश गराउन सक्छ। राजनीतिमा लाग्नेहरूलाई प्रतिष्ठाकाे पद प्राप्त हुने सम्भावना छ। भाग्यले घरजग्गालगायत स्थायी सम्पत्ति दिलाउन सक्छ। प्रेम र मित्रताको बन्धन कसिनुका सन्तान सुख प्राप्त हुने समय छ। विद्यार्थीहरूका लागि वर्षको उत्तरार्ध फलदायी रहनेछ। केतुकाे प्रभावले प्रतिस्पर्धाबाट लाभ मिल्नेछ। राेग र शत्रु पनि परास्त हुनेछन्। वर्षभरि शीर्षभावमा शनिको उपस्थितिले काम, क्रोध आदि प्रवृत्ति समेत बढ्नेछन्। शनिको मध्य साढेसाती प्रभावले जन्मकुण्डलीमा शनिदेव प्रतिकूल हुनेहरूलाई शरीरमा आलस्य, काममा विलम्ब, आर्थिक कठिनाइ, झुटा आरोप, मानहानि जस्ता समस्या आइलाग्नेछन्।
आलोचकहरूले लोकप्रिय काममा समेत अवरोध पुर्याउन सक्छन्। उच्च अधिकारीसँगको विवादले नोकरीमा समस्या आउन सक्छ। खर्चस्थानका राहुको प्रतिकूलताले फजुल खर्च, आर्थिक मन्दी र व्यावहारिक उतारचढाव पनि देखापर्न सक्छन्। जन्मकुण्डलीमा प्रतिकूल राहु हुनेहरूलाई लाञ्छना, अर्थहानि, वादविवाद जस्ता समस्या देखा पर्नेछन्। विदेश ताक्नेहरूलाई यात्रा राेकिन सक्छ। प्रतिकूल समयमा अशुभ ग्रहको शान्ति र आफ्ना इष्टदेवताको पूजा–आराधना गर्दा लाभ हुनेछ र सम्भावित समस्या टर्नेछन्। राहुजन्य कर्मदोष निवारण गर्न वटुकभैरव र छिन्नमस्ताको पूजा गर्नुहोला। शनिका प्रतिकूल प्रभावबाट सुरक्षित रहन र शुभफल प्राप्त गर्न शनिवार पीपलकाे पूजा गरी जल चढाउनुका साथै काली भगवतीको समेत पूजा–आराधना गर्नुहोला। आर्थिक रूपमा जेठ, भदौ, पुस र माघ महिनामा बढी फाइदा हुनेछ भने असार, कार्तिक र फागुन महिना अलि प्रतिकूल देखिएकाले संयमित भएर काम गर्नुहोला।