फिर्केको असर फेवामाः २५ लाखको लागतमा गाइघाटको टापु हटाइने

santan ads

नयाँलिपिः पोखराको मध्यभाग हुँदै बग्ने फिर्के खोलाले ल्याएको माटो, फोहोर, प्लास्टिक आदि जम्मा भएर पोखरा महानगरको वडा नम्बर ६ र १७ गाईघाटमा ‘टापु’ बनेको छ ।

फिर्केले बगाएर ल्याउने फोहोेरले ताल प्रदुषितमात्र हैन टापु नै बनेपछि महानगरपालिकाले बजेट विनियोजन गरी फेवालाई फराकिलो बनाउने योजना अघि सारेको छ ।

पोखरा महानगरले यहाँको माटो हटाउन यो वर्ष २५ लाख बजेट विनियोजन गरेको छ । यहाँको करिब ३० रोपनी क्षेत्रमा २० हजार घनमिटर जति माटो र फोहोर भएको अनुमान छ । महानगरका वातावरण महाशाखा प्रमुख विमलरञ्जन कार्कीका अनुसार यस वर्ष ४ हजार पाँच सय घनमिटर माटो निकालिने छ ।

यसका लागि वातावरणीय अध्ययन गरी यही हप्ता टेन्डर आह्वान गर्ने तयारी छ । ताल पर्ने माटो निकाल्ने र खोलाका ठाउँ ठाउँमा चेक ड्याम निर्माण गरी तालसम्म फोहोर र माटो आउन नदिने योजनासमेत महानगरको छ ।

महाशाखा प्रमुख कार्की भन्छन् “यो वर्ष गाईघाटमा अस्थायी चेक ड्याम बनाउँछौँ । ठाउँ ठाउँमा चेक ड्याम निर्माण गरी तालसम्म फोहोर नपुग्ने गरी काम गर्ने योजना छ ।”

यहाँको माटो र फोहोर हटाउन वातावरण संरक्षणका लागि महाअभियानले बारम्बार आवाज उठाउँदै आएको थियो । अभियन्ता रामबहादुर पौडेल सकारात्मक काम सुरुआत भएको बताए ।

“हामीले केही वर्षदेखि नै यो एजेन्डा उठाउँदै आएका हौँ । टापु हटाएर सके स्थायी नभए अस्थायी चेक ड्याम बनाएर भए पनि ताल जोगाउनु जरुरी छ”
पौडेलले उल्लेख गरे ।

पोखरा महानगर फिर्के खोलाको खोला घरभित्र पर्ने स्थायी तथा अस्थायी संरचना हटाउने योजनामा छ । नाप जाँच गरी खोला घर भत्काउन महानगरले पोहोर कात्तिकमा जारी गरेको सूचनापछि परेको रिट निवेदन उच्च अदालत पोखराले पुस १६ खारेज गरिदिएपछि महानगरलाई काम गर्ने बाटो खुलेको हो ।

२०७७ सालमा फेवाताल अतिक्रमित जग्गा छानबिन समितिका संयोजक विश्वप्रकाश लामिछानेको संयोजकत्वमा रहेको समितिको प्रतिवेदनअनुसार फेवाको क्षेत्रफल पाँच दशमलव सात वर्ग किलोमिटर छ ।

Scroll to Top