आन्दोलनकारीको रिहाईसँगै १० बुँदे मागसहित स्वतन्त्र नेपालीद्वारा पोखरामा ‘रिले अनशन’

santan ads

नयाँलिपि सम्वाददाताः चैत २८ गते दुर्गा प्रसाई पक्राउ परेको भोलीपल्टदेखि पोखरामा रिले अनशन सुरु गरिएको छ ।

‘स्वतन्त्र नेपाली नागरिक, पोखरा’ले प्रसाईसँगै राष्ट्रिय प्रजातन्त्र पार्टीका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा. धवलशमसेर राणालगायत काठमाण्डौंको तीनकुने प्रकरणमा समातिएका सम्पूर्णको रिहाइको माग गर्दै पोखराको मुस्ताङचोकमा आमरण अनशन सुरु गरेको छ ।

अनशन आयोजकले पक्राउ परेकाहरुलाई ‘राजनीतिक आस्थाको बन्दी’ भन्दै यथाशीघ्र रिहाइकाखातिर सरकारलाई दबाब दिने उद्देश्यले स्वस्फुर्त अनशन सुरु गरेको बताएका छन् ।

पृष्ठभूमिमा गोरखनाथ, पृथ्वीनारायण शाह र पूर्वराजा ज्ञानेन्द् शाह अंकित ब्यानर राखिएपनि अनशनकारीहरुले कुनैपनि राजनीतिक दल आबद्ध नरहेको प्रतिक्रिया दिएका छन् ।

रिले अनशनमा सहभागी मनोज थापा भन्छन् ‘गणतन्त्र आउँदै गर्दा देशलाई सिंगापुर बनाउने सपना देखाइएको थियो, तर पुरा भएन । अब हाम्रो पनि सपना छ, देशमा राजतन्त्रको बहाली र हिन्दूराष्ट्रको स्थापना गर्ने ।’

आफुहरु कुनैपनि संस्था वा दलका कार्यकर्ता नभई सचेत युवा रहेको थापाले बताए । ‘देश अस्तव्यस्त भयो, युवा विदेशिने परेको छ, यसलाई रोक्न हामी कास्कीलगायतका जिल्लाबाट उदाउँदैछौं ।’

राजा र सनातन हिन्दू धर्मसँगै अन्य मागसमेत रहेको अनशनकारीको भनाई छ । तीनकुनेमा राज्यले गरेको दमनपछि गणतन्त्रमा प्रश्न गर्ने ठाउँ रहेको उनीहरुले बताए ।

सोमबारको अनशनमा थापासँगै राष्ट्र, राष्ट्रियता तथा नागरिक बचाउँ महाअभियानका गण्डकी संयोजक ऋषि बराल, स्वतन्त्र युवाहरु विजय बराल, सन्तोष तामाङ्, विश्वास घिमिरे, निकेश कँडेल, प्रभात लामिछान बसेका छन् ।

स्थानीय प्रशासन र प्रहरीबाट अनुमति लिएर अनशन बसेको उनीहरुको भनाई छ । अनशनमा एउटा समूह २४ घण्टाको दरले बस्ने गरेका छन् ।

सरकार विरुद्ध ‘मौन विद्रोह’ गरेको बताउँदै सहभागीले रिले अनशन अनिश्चितकालीन भएको जनाएका छन् ।

अनशनमा राप्रपा, विश्व हिन्दू महासंघ, राप्रपा नेपाल, शिवसेना नेपाल, नागरिक बचाउ महाअभियानलगायतले ऐक्यबद्धता जनाएका छन् । ्

अनशनकारीले आन्दोलनकारीको रिहाईसँगै १० बुँदै मागसमेत राखेका छन् ।

Scroll to Top