नेपाल सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सबै प्रकारका रोगको उपचार देश भित्रै गर्नेगरी सरकारले स्वास्थ्य क्षेत्रको सुधार गर्न लागेको बताएका छन् ।
गृहजिल्ला लमजुङको राइनास नगरपालिका-२ मा रहेको भलायखर्क स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दै सञ्चारमन्त्री गुरुङले जटिल प्रकारका रोगको उपचार तथा शल्यक्रिया देशभित्रैका अस्पतालमा सम्भव बनाउन सरकार लागिपरेको धारणा राखे ।
“अब कोही नागरिक बिरामी हुँदा उपचार गर्न पाइन भन्ने दिन आउने छैन। उपचारका लागि राम्रो अस्पतालको अभाव हुनेछैन”, मन्त्री गुरुङले भने, “देशभित्रै सुविधा सम्पन्न अस्पताल निर्माण, नयाँ नयाँ प्रविधिको विकास गर्न सरकार लागिपरेको छ। आगामी वर्षको बजेट र नीति तथा कार्यक्रमले त्यसको सुरुवात गर्नेछ।”
सञ्चारमन्त्री गुरुङले जनसंख्याको आधारमा पाँचदेखि १५ शय्याका अस्पताल पालिकास्तरमा नै सञ्चालन गर्नेगरी सरकारले काम गरिरहेको उल्लेख गरे।
सोही सन्दर्भमा उनले बीमा कार्यक्रमलाई थप प्रभावकारी बनाउँदै नागरिकको स्वास्थ्य उपचारमा सरकार लागिपर्ने आश्वासनसमेत दिए ।