पोखरा । प्रथम एलिट भलिबल कपमा महिलातर्फको सेमिफाइनल समिकरण पूरा भएको छ । एलिट भलिबल एकेडेमीको आयोजनामा पोखरा–३ नदिपुरमा जारी प्रतियोगितामा महिलातर्फ बागलुङ नगरपालिका र शान्ता भलिबल क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेका हुन् ।
शनिबार भएको पहिलो खेलमा शान्ता भलिबलले स्काई ब्लु लामाचौरलाई ३–० को सोझो सेटमा पराजित ग¥यो । यस्तै बागलुङ नगरपालिकाले एलिट भलिबल ‘बी’ लाई ३–० को सोझो सेटमा हराउँदै सेमिफाइनलमा स्थान सुरक्षित ग¥यो ।
यसअघि एलिट भलिबल ‘ए’ र पृथ्वीनारायण क्याम्पसले सेमिफाइनलमा स्थान बनाएका थिए । आइतबार महिलातर्फ सेमिफाइनलका खेल हुनेछन् । पहिलो सेमिफाइनल बिहान ८ बजे एलिट भलिबल ‘ए’ र पिएन क्याम्पसबिच हुनेछ । त्यसपछि दोस्रो सेमिफाइनल शान्ता भलिबल र बागलुङ नगरपालिकाबिच हुने आयोजकले जनाएको छ ।
पुरुषतर्फ भएको खेलमा पिएन क्याम्पस र गलकोटको टोली विजयी भएका छन् । पिएनको टोलीले पोखरा भलिबल टेनिङ सेन्टर र गलकोटले नेवारी खाजा घर टोलीलाई ३–० को सोझो सेटमा पराजित गरेको हो ।
आइतबार महिलातर्फका दुई खेलपछि पुरुषतर्फका खेल सुरु हुनेछ । पुरुषतर्फको पहिलो खेल पर्वत र बिजी देउराली युथ क्लब, रुपा गाउँपालिकाबिच हुनेछ । त्यसपछि पकुवा पर्वत र स्याङ्जाबिच हुने आयोजकले जनाएको छ ।
तेस्रो खेल ब्रदरहुड नवलपुर र लाफा गाईज, चौथो एलिट भलिबल एकेडेमी र साजपानी म्याग्दी तथा पाँचौं गुरुङ गाइज र पिएन क्याम्पसबिच हुने तालिका छ ।

प्रतियोगितामा पुरुषतर्फ पहिलो स्थान हासिल गर्ने टोलीले एक लाख सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ ।
यसैगरी महिलातर्फ पहिलो स्थान प्राप्त गर्ने टोलीले ५० हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने दोस्रो स्थान प्राप्त गर्ने टोलीलाई २५ हजार नगद, ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।