नयाँलिपि । नेपाली नयाँ वर्षलाई लक्षित गरी आजदेखि पोखराको लेकसाइडमा भव्य महोत्वस सुरु भएको छ ।
होटल सङ्घ पोखराले आयोजना गरेको महोत्सवको उद्घाटन गर्दै पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले पोखरामा अंग्रेजी र नेपाली दुबै वर्षलाई भव्यताकासाथ मनाउँदै आएको उल्लेख गरे ।
पोखरामा आयोजना भइरहने मेला महोत्सवहरूले पोखराको पर्यटनलाई चलायमान बनाउन महत्त्वपूर्ण टेवा पुगेको बताउँदै आन्तरिक र बाह्य दुबै पर्यटकलाई महानगरकोतर्फबाट स्वागत गरेका छन् ।
पर्यटन, संस्कृति र खाना फेवा महोत्सवको मुख्य आकर्षण रहने संघले जनाएको छ । महोत्सवका अवसरमा आयोजक संघले पोखरा आउने पाहुनालाई होटलको प्रकाशित दररेटमा २० प्रतिशत छुट प्रदान गर्ने जानकारी यसअघि नै दिइसकेको छ ।
प्रदेशस्तरीय मौलिक तथा रैथाने परम्परागत खानाको प्रदर्शन, सांस्कृतिक कार्यक्रमहरुको प्रस्तुती, मनोरञ्जनात्मक खेलकुद कार्यक्रम र पर्यटक दौड प्रतियोगिता महोत्सवका आकर्षण रहने छन् ।
व्याडमिन्टन कप, स्थानीय एवम् प्रख्यात कलाकारद्वारा प्रत्यक्ष पप कन्सर्ट, कृषि एवम् हस्तकलाका सामानहरुको प्रदर्शनी तथा स्थानीय तथा प्रख्यात कलाकारद्वारा लोक दोहोरी कार्यक्रम पनि प्रस्तुत हुने छन् । महोत्सव वैशाख १ गतेसम्म चल्ने छ ।