नयाँलिपिः गण्डकी विश्वविद्यालयको कुलपतिमा प्राडा इन्द्रप्रसाद तिवारी नियुक्त भएका छन् । मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले शुक्रबार तिवारीलाई नियुक्तिपत्र प्रदान गरेका छन् ।
कास्कीकै लेखनाथका प्राडा इन्द्रप्रसाद तिवारी पोखरा विश्वविद्यालय स्कुल अफ सोसल साइन्सका पूर्व डिन हुन् । उनीसँग देशविदेशमा रहेर विभिन्न दातृ निकायहरुमा काम गरेको लामो अनुभव छ ।
यसअघि कुलपति सिफारिस समितिले ३ जनाको नाम मुख्यमन्त्रीलाई बुझाइएको थियो ।
३ जनाकाे दाैडमा प्राडा तिवारी, प्राडा विश्वकल्याण पराजुली र प्राडा सरोज कोइरालाको नाम थियो ।
कुलपतिका लागि ७ जनाले आवेदन दिएको भए पनि ५ जनाको मात्र स्वीकृत भएको थियो । आवेदन स्वीकृत हुनेमा प्राडा कुसुमाकर न्यौपाने र प्राडा नवराज देवकोटा समेत थिए । देवकोटा गण्डकी विश्वविद्यालयकै बहालवाला उपकुलपति हुन् ।
कुलपति पदका उम्मेदवारलाई आफ्नो योग्यता, अनुभव र भविष्यको कार्ययोजनाबारे प्रस्तुतीकरण गर्ने मौका दिइएको थियो । गत फागुन ४ मा कुलपति प्राडा गणेशमान गुरुङको पदावधि सकिएपछि छनोट समितिले सूचना प्रकाशित गरेको थियो ।
१५ दिनको अवधि राखेर सूचना प्रकाशन गरिएकामा ७ जनाको आवेदन परेको थियो । २ जनाको आवेदन अस्वीकृत भएको थियो ।
गण्डकी विश्वविद्यालय नेपालको पहिलो प्रदेश विश्वविद्यालय हो ।