नयाँलिपिः गण्डकी प्रदेश सभाको सातौं अधिवेशन आजबाट अन्त्य हुने भएको छ ।
मन्त्रिपरिषद् बैठकले अधिवेशन अन्त्यका लागि प्रदेश प्रमुख समक्ष लेखिपठाउने निर्णय गरेसँगै आज मध्यरातिबाट अधिवेशनको औपचारिक अन्त्य हुनेछ ।
फागुन २ गतेबाट सुरु भएको हिउँदे अधिवेशनले ६ वटा विधेयक पास गरेको छ ।
पारित भएका बिधेयकमा गण्डकी प्रदेशमा साझेदारी फर्मको नियमन र व्यवस्थापन गर्न बनेको बिधेयक, गण्डकी प्रदेशमा सार्वजनिक सडक निर्माण, बिस्तार तथा मर्मतसंभार गर्ने सम्बन्धी, सामयिक कर असुल गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक रहेका छन् ।
त्यस्तै, गण्डकी प्रदेश निजामती सेवा ऐन २०७९ लाई संसोधन गर्न बनेको बिधेयक, जीवनाशक बिषादी व्यवस्थान सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक, केही गण्डकी प्रदेश ऐन खारेज गर्ने विधेयक पनि पारित भएका छन् ।
यससँगै, अन्य १० वटा बिधेयक पेश भएका छन् । पेश भएका विधेयकमध्ये गण्डकी प्रदेशमा मगर र गुरुङ भाषालाई सरकारी कामकाजको भाषाको रुपमा प्रयोग गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको बिधेयक र दलित अधिकार तथा सशक्तिकरण सम्बन्धमा तयार पारिएको विधयेक महत्वका रहेका छन् ।