कोटीहोमको तीब्र तयारीमा फाउण्डेशन, मूल आयोजक समिति गठन

santan ads

नयाँलिपिः मानवसेवा फाउण्डेशनले पोखरामा आगामी बैशाख १७ देखि जेठ २६ गतेसम्म आयोजना गर्ने श्री गण्डकी शत कुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञको तयारी तीब्र पारेको छ ।

पोखरा–१७ स्थित बिरौटामा आयोजना हुने महायज्ञलाई सफल पार्न आयोजक फाउण्डेशनले आज संकल्प सभा सम्पन्न गरेको छ । सभामा विभिन्न व्यक्तिले कोटीहोमलाई सहयोग राशीकोसमेत घोषणा गरेका छन् ।

सहयोगीहरुलाई सम्मान गर्दै आयोजकले उनीहरुप्रति कृतज्ञता व्यक्त गरेको छ । सभाकै अवसरमा कोटीहोमपूर्वका विविध कार्यक्रमको घोषणा पनि गरेको छ ।

सभापश्चात् आयोजना गरिएको पत्रकार सम्मेलन बालयोगेश्वर विजयकृष्णमुर्तिले कोटीहोमको उद्देश्य राष्ट्र शान्ति, विश्व कल्याण एवं शान्ति तथा समृद्धि रहेको बताएका छन् । उनले गण्डकी क्षेत्रको महिमा र धार्मिक परिचयलाई पनि उजागर गरे ।

त्यस्तै, आयोजकले कोटीहोमलक्षित ८ समितिसमेत गठन गरेको छ । गठित समितिमा मार्गनिर्देशन मण्डल, प्रमुख संरक्षक समिति, वरिष्ठ संरक्षक समिति, वरिष्ठ सल्लाहकार समिति, सल्लाहकार समिति, मूल आयोजक समिति र कानूनी सल्लाहकार समित रहेका छन् ।

कोटीहोममा सुश्री अनुराधा पाण्डेय, देवि प्रतिभाजी, दीनबन्धु पोखरेल, चैतन्यकृष्ण महाराज, सुप्रिया किशोरीलगायतले कथावाचन गर्नेछन् ।

४१ दिनसम्म निरन्तर हवन हुने भएकाले भक्तजनलाई घ्यु, तील, तेल, देवदार, श्रीखण्डलगायतका सामग्री लिएर आउन अनुरोध गरिएको छ ।

संकल्पकर्ता स्वयं रहेका बालयोगेश्वरले ५ हजार १०१ महायज्ञ मूल आयोजक समिति गठन गरेका छन् । संयोजक, उपसंयोजक, वरिष्ठ सदस्य, विशेष सदस्य, र सदस्यहरु समावेश रहेका छन् ।

कोटीहोमस्थलमा वैशाख ३ गते भूमिपूजन र यज्ञकुण्ड निर्माण गर्ने आयोजकले जनाएको छ ।

Scroll to Top