नयाँलिपिः नेपाली भलिबल टिमकी कप्तान अरुणा शाहीले आज पोखरामा प्रथम एलिट भलिबल कप घोषणा गरेकी छिन् ।
पोखराको नदिपुरस्थित एलिट भलिबल एकेडेमीमा आगामी चैत २९ गतेदेखि प्रतियोगिता सुरु हुनेछ ।
प्रतियोगितामा महिला र पुरुष दुबै टोलीको सहभागिता रहने एकेडेमी सञ्चालक एवं प्रतियोगिता संयोजक शाहीले जानकारी दिइन् ।
प्रतियोगितामा पुरुषतर्फको विजेताले एक लाख र उपविजेताले ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउने छन् ।
महिलातर्फ विजेतालाई ५० हजार र उपविजेतालाई २५ हजार रुपैयाँ प्रदान गरिने आयोजकले जनाएको छ ।
प्रतियोगितामा सर्वोत्कृष्ट पुरुष खेलाडीले ५ हजार र सर्वोत्कृष्ट महिला खेलाडीले ३ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
विधागततर्फ उत्कृष्ट हुने पुरुष खेलाडीलाई समान २ हजार र महिलातर्फ समान १५ सय प्रदान गरिनेछ ।
पुरुषतर्फ दर्ता शुल्क ६ हजार ५ सय र महिलातर्फ ३ हजार ५ सय तोकिएको छ ।
कप्तान शाहीसहित ३ जना मिलेर स्थापना गरिएको एकेडेमीको मुख्य लक्ष्य महिला खेलाडी उत्पादन गर्ने रहेको जानकारी दिइएको छ ।