दिपक के श्रेष्ठ
पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखारमा बिरामीले बुझाएको शूल्कको १० प्रतिशत रकम (बीमा रिफन्ड) उनीहरुलाई फर्काउने नगरिएपछि ठगी भएको निष्कर्षसहित प्रतिवेदन फाइल अख्तियार दुरुपयोग अनुसन्धान आयोगको पोखरा कार्यालयमा बुझाइएको छ ।
बिरामीले फार्मेसी बीमा काउन्टरबाट उक्त १० प्रतिशत रकम फिर्ता पाउने प्रावधान रहेपनि त्यहाँ रहेका ३ कर्मचारीले फिर्ता नदिने गरेको पाइएपछि यस विषयमा चर्चा चलेको थियो । यसैबीच, केही बिरामीका आफन्तले यस विषयमा कुरा उठाएपछि उक्त प्रकरण बाहिरिएको हो ।
घटना बाहिरिएपछि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानले छानबीन गर्न गत फागुन २५ गतेसम्म छानबीनको प्रतिवेदन बुझाउन शाखा अधिकृत सुशिलकुमार अर्यालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको थियो ।
उक्त अध्ययनले प्रतिष्ठानलाई चैत १ गते प्रतिवेदेन बुझाएको थियो । उक्त प्रतिवेदनमा कर्मचारीले ६ लाख रुपैयाँ हिनामिना गरेको र अस्पताललाई ६० लाख रुपैयाँ घाटा लागेको उल्लेख गरिएको छ ।
सोही आधारमा उल्लेखित कर्मचारीलाई कारवाही गर्न प्रतिष्ठानले अख्तियारको पोखरा कार्यालयमा प्रतिवेदन बुझाएको छ ।
प्रतिष्ठानका निर्देशका प्राडा भरतबहादुर खत्रीले कार्यदलले तयार पारेको प्रतिवेदन अख्तियारमा बुझाइएको बताउँदै कारवाहीको प्रक्रिया उतैबाट अघि बढ्ने बताए ।
‘हामीले कार्यदलको प्रतिवेदन अख्तियारमा बुझाइसक्यौ, अब कारवाहीको प्रक्रियाको जानकारी उतैबाट पाइन्छ’ निर्देशक खत्रीले भने ‘अस्पताललाई त्यस्तै, ६० लाखको हाराहारीमा घाटा लागेको प्रतिवेदनमा उल्लेख छ ।’
अख्तियार कार्यालय पोखराका प्रमुख अस्मान तामाङले पश्चिमाञ्चल अस्पतालको बीमा रिफन्डको फाइलमा अध्ययन–अनुसन्धान थालेको बताएका छन् । प्रतिवेदन प्राप्त भएपछि यस विषयमा विशेष टिममार्फत शून्यबाट अनुसन्धान थालिएको बताएका छन् ।
अस्पतालले प्रतिवेदेनमा ६० लाख रुपैयाँ घाटा भएको उल्लेख गरिएको प्रतिवेदन बुझाएपनि त्यसलाई आधार नमानिने प्रमुख तामाङले जानकारी दिए ।
‘हामीकहाँ आइपुगेको प्रतिवेदन हाम्रोलागि केवल ‘जानकारी’मात्र हो, तामाङ भन्छन् ‘अख्तियारको अनुसन्धान प्रक्रिया अलग हुन्छ, प्रतिवेदनलाई नै स्वीकार्ने भन्ने हुँदैन ।’
तामाङका अनुसार बीमा काउन्टरको कम्प्युटर जफत गरी डेटाको अध्ययन गरिनेछ । प्रारम्भिक अध्ययनबाट २ करोड घाटा लागेको पाइएको बताउँदै सत्य, तथ्य छिट्टै बाहिरिने उनको भनाई छ ।
‘अस्पताल प्रशासनको कार्यदलले बुझाएको प्रतिवेदनउपर नै हामी पुनः अनुसन्धान गर्छाै, ६० लाख हैन करोडमाथि घाटा भएको हुनसक्छ’ तामाङले भने ।
बीमाको काउन्टरबाट हुने रिफन्डसम्बन्धी डेटा चित्तबुझ्दो नदेखिएको उनको ठम्याई छ । कम्प्युटरमा रहेका डेटा केही अस्वभाविक र अविश्वसनीय देखिएको अख्तियारको ठहर छ ।





