मुस्ताङचोकमा लोकतन्त्र पक्षधरको ‘नागरिक धर्ना’

santan ads

नयाँलिपिः पोखराको मुस्ताङचोकमा आज बृहत नागरिक धर्नाको आयोजना भएको छ ।

धर्नामा सहभागीले लोकतन्त्र, मानवअधिकार र शान्तिको पक्षमा अभिमत प्रकट गर्न कार्यक्रम आयोजना गरेको बताएका छन् ।

गैरसरकारी संस्था महासंघ, गण्डकीद्वारा आयोजित धर्नामा एमनेष्टी इन्टरनेशनल, मानवअधिकार एलायन्स, महिला मानवअधिकार रक्षक संजाल, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)लगायत संस्थाका प्रतिनिधि सहभागी थिए ।

त्यस्तै, नागरिक धर्नालाई पत्रकार महासंघ गण्डकी प्रदेश र कास्की शाखाले पनि ऐक्यवद्धता जनाएका छन् । धर्नामा सहभागीले लोकतन्त्र र मानवाधिकारको पक्षमा वकालत गर्दै आन्दोलन र प्रदर्शनका नाममा भएको अराजकता र हिंसाको विरोध गरेका छन् ।

सोहीक्रममा सहभागीले हालै अराजक समूहबट मृत्युवरण गरेका पत्रकार सुरेश रजकको सम्मानमा मौनधारणसमेत गरेका छन् ।

१ घण्टा धर्नापश्चात् इन्सेकका गण्डकी संयोजक शिव खकुरेलले कार्यक्रम आयोजना गर्नुको उद्देश्यमाथि प्रकाश पारेका थिए । कार्यक्रमको सन्चालक शेखर गौतम हुन् ।

यसअघि शहिदचोकमा आयोजना गरिएको धर्ना निषेधित क्षेत्रकाकारण जिल्ला प्रशासन कार्यालय, कास्कीले आयोजना गर्न नदिएपछि मुस्ताङचोक सारिएको थियो ।

Scroll to Top