पश्चिामाञ्चल क्षेत्रीय अस्पतालको बीमा रिफन्डमा गडबडी, ३ सदस्यीय छानबिन समिति गठन

santan ads

दिपक के श्रेष्ठः पश्चिमाञ्चल क्षेत्रीय अस्पताल, पोखरामा स्वास्थ्य बीमाअन्तरगत सेवा लिने बिरामीलाई उनीहरुले बुझाउने १० प्रतिशत रकम रिफन्ड (पुनः फर्काउने) नगरिएको पाइएको छ ।

बीमाअन्तरगतको सेवाग्राहीले उक्त रकम सोही दिन बेलुकी वा उपचारपश्चात् फिर्ता पाउने प्रावधान रहेको बताइएको छ । तर प्रायः बिरामीले त्यतापट्टि ध्यान नदिँदा उक्त रकम बीमाको काउन्टरबाट हराउने गरेको आशंकापछि कार्यदलमार्फत छानबीन सुरु भएको छ ।

पोखरा स्वास्थय विज्ञान प्रतिष्ठानले फागुन २५ गतेसम्म छानबीनको प्रतिवेदन बुझाउन शाखा अधिकृत सुशिलकुमार अर्यालको संयोजकत्वमा ३ सदस्यीय कार्यदल गठन गरेको छ ।

कार्यदलमा लेखा अधिकृत हेमन्तराज ढकाल र आइटी विभागका एकजना रहेका छन् ।

‘हामीले अध्ययन र छानबीन सुरु गरिसकेका छौं’ संयोजक अर्यालले भने ‘२५ गतेसम्म प्रतिवेदन बुझाउने भनिएको छ, सकेसम्म निर्धारित समयमा काम पुरा गर्नेछौं ।’

बीमाको काउन्टरबाट हुने रिफन्डसम्बन्धी डेटा चित्तबुझ्दो नदेखिएको उनको ठम्याई छ । ‘कम्प्युटरमा रहेका डेटा केही अस्वभाविक र अविश्वसनीय देखिन्छ, पछिल्लो समय छिटफुट गुनासा पनि आएका थिए’ संयोजक अर्याल भन्छन् ।

कतिपय बिरामीले इमर्जेन्सी सेवा लिँदा उपचारपश्चात् रिफन्डमा चासो नदिने र केही बिरामी प्रारम्भिक उपचारपछि अस्पताल ट्रान्सफर गर्दा रिफन्डमा ध्यान नदिने गरेको पाइएको अर्यालले बताए ।

‘हामी सुक्ष्म छानबिन गर्छाै, निष्पक्ष नतीजा दिएर सरकारी अस्पतालप्रतिको साख गिर्न दिनेछैनौ’ अर्यालको दाबी छ ‘निर्धारित भन्दा केही बढी दिन लाग्न सक्छ तर गडबडी पत्ता लगाएरै छाड्छौं ।’

ठ्याक्कै कति रकम तलमाथि भएको छ यसै भन्न नसकिने भन्दै तथ्यपूर्ण हिसाब पाउन केही दिन कुर्न उनले आग्रह गरेका छन् ।

Scroll to Top