कृषिकर्ममा विप्लवको नेकपाः पोखरामा आलु, कालिकोटमा भेडाको बथान

दिपक के श्रेष्ठः एक वर्षअघि नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले जनकम्युनको अवधारणालाई मुर्तरुप दिन कपिलवस्तुमा बाउसे गरेको भिडियो सार्वजनिक गरेका थिए ।

हरियो गञ्जीमुनी पाइन्ट काटेर बनाएको कट्टुमा महासचिव विप्लव चैते धान रोप्न फरुवाले गह्रा मिलाउँदै गरेको उक्त भिडियोमा देख्न सकिन्छ । भिडियोलाई ‘स्टन्टबाजी’ पनि भनियो । तर, वर्ष दिनपछि उक्त भनाई गलत सावित भएको छ ।

नेकपाले नवौं महाधिवेशनबाट ‘एकीकृत स्वामित्व प्रणाली’लाई निर्णय नै गरेर कार्यान्वन गरेपछि यतिबेला नेकपा कार्यकर्ताहरु विभिन्न जिल्लामा खेती र पशुपालनमा जुटेका छन् । जसको नतीजा सकारात्मक देखिएको केन्द्रीय सदस्य काजी सी बताउँछन् ।

लामो समय कास्की र गण्डकी क्षेत्रमा पार्टीको जिम्मेवारी सम्हालेका काजीका अनुसार पोखराको छिनेडाँडामा सुरु गरेको कृषिकर्मले उत्साहित बनाएको छ । त्यहाँ १४ रोपनी जमिन भाडामा लिएर सुरु गरेको खेतीबाट करिब ६५ रोपनी आलु फल्यो ।

अहिले उनीहरु चैते धानको तयारीस्वरुप ब्याड बनाउन र बिउँ राख्ने चटारोमा छन् । गण्डकी प्रदेश इन्चार्ज उमा भुजेल स्वयं कृषिकर्ममा जुटेकी छिन् । परम्परागत खेतीसँगै आधुनिक र व्यावसायिक तहमा अघि बढ्न अध्ययन र सिकाइलाई पनि जोड दिएको केन्द्रीय सदस्य काजी बताउँछन् ।

चैते धान रोप्ने मेसोबीच काँक्रा र मकै छर्ने चटारोसमेत छिनेडाँडामा थपिएको छ । साथै, सोही जमिनमै रहेको पुरानो शैलीकै घरमा पार्टीको प्रदेश कार्यालयसमेत राखिएकाले कृषिकर्ममा जोडिन सहज भएको छ ।

यसैबीच पार्टी महासचिव विप्लव एक हूल भेडाको बथानसँगै देखिएका छन् । उक्त भेडाको बथान कालिकोटको भएको काजीले जानकारी दिए ।

खाइलाग्दा ज्यान भएको भेडाको बथानमा गोठाले शैलीमा उभिएका विप्लवको तस्बिर देखेपछि एक वर्षअघि कपिलवस्तुमा बाउसे गरेको भिडियो स्टन्टबाजी नभएको पुष्टी भएको छ ।

उक्त सामुहिक भेडापालन नरहरिनाथ गाउँपालिकाकाे रुप्सा, चिसापानीमा सुरु गरिएको हो । वर्षअघि २० वटा भेडाबाट सुरु गरिएको सामुहिक यात्रामा अहिले १ सय भेडा पुगेको काजीले जानकारी दिए ।

‘त्यहाँ नेकपा र कार्यकर्तालेमात्र लाभ लिने उद्देश्य नभई पुरै गाउँलाई आर्थिक समृद्धिमा डो¥याउने योजना छ’ काजी भन्छन् ‘पार्टी कार्यकर्ता बाहेक स्थानीयसँग पनि सामुहिक खेतीमा सहकार्य गर्न सक्छौं ।

कालीकोटमा भेडापालनसँगै स्याउखेतीसमेत सुरु गरिएको काजी बताउँछन् ।

हालसम्म एकीकृत स्वामित्वमार्फत देशभर सहकारी खेतीका ७ केन्द्र र ७७ उपकेन्द्र रहेको उनले बताए । कतिपय उत्पादन त्यहीको केन्द्र वा उपकेन्द्रबाट बिक्री गरिँदै आइएको छ भने काठमाण्डौंमा ‘सी व्यापार केन्द्र’ खोलिएको छ ।

नेकपाका अनुसार अब पार्टी साना र घरेलु उद्याेग स्थापनाकाे तयारीमा जुटेकाे छ ।

Scroll to Top