पोखरामा दुर्गा प्रसाइँले भने ‘राजाको सम्बोधनलाई समर्थन छ, अन्तिम लडाई लडौं’

santan ads

नयाँलिपिः राष्ट्रियता, प्रजातन्त्र र जनताको हितमा एकपटक अन्तिम लडाई लड्न दुर्गा प्रसाइँले आव्हान गरेका छन् ।

‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’का संयोजक रहेका प्रसाईँले आज पोखराको अमरसिंह चौरमा कार्यक्रमको आयोजना गरी राजतन्त्रको पक्षमा सम्बोधन गरेका छन् ।

महाअभियानमार्फत देशका विभिन्न स्थानमा कार्यक्रम गर्दै आएका प्रसाइँले पोखरामा राजाले हालै गरेको सम्बोधनले देशवासीसमक्ष राष्ट्र जोगाउन अपील गरेको भन्दै उक्त सम्बोधनलाई ‘साहशिक’ बताएका छन् ।

सम्बोधन जनताको पक्षमा भएको र सबै पक्षबाट मननीय भएको उनको ठहरी छ । ‘राजाले जनताको समस्या बुझनुभयो । तपाई–हामीले बुझनुपर्ने बेला भयो’ उनले भने ‘राष्ट्रियता, प्रजातन्त्र र जनताको हित र सर्वोच्चतालाई केन्द्रबिन्दुमा अब एक पटक लडनुपर्छ ।’

गेरुवस्त्रमा सजिएका प्रसाइँले सम्बोधनको अधिक समय राजतन्त्र र सनातन धर्मबारे खर्चिएका थिए । अब राजा र हिन्दू धर्मले मात्रै देश र नागरिकलाई बचाउँनसक्ने उनको भनाई छ ।

अभियानको सभामा प्राज्ञ एवं संस्कृतिविद् जगमान गुरुङ्, कलाबार सन्तोष पन्त, अधिवक्ता स्वागत नेपाल, धर्मगुरुहरु, अभियानका कार्यकर्ता, पूर्वराजाका शुभचिन्तक एवं राप्रपा समर्थकहरुको उपस्थिति थियो ।

सभामा सहभागी अधिकांश प्रसाइँसँगै विभिन्न जिल्लाबाट बस एवं निजी गाडीमा पोखरा आएका थिए । उक्त समूह प्रसाइँसँगै देशका अन्य स्थानमा आयोजना हुने सभामा पुग्नेछन् ।

सहभागीलाई हस्पिटल चोकमा रहेका होटलहरुमा बिहानको खानाको व्यवस्था गरिएको थियो ।

Scroll to Top