चोकचोकमा प्रचण्डको शालिक बनाउनुपर्छः नेतृ घर्ती

santan ads

दिपक के श्रेष्ठः नेकपा माओवादी केन्द्रकी नेतृ एवं स्थायी समिति सदस्य ओनसरी घर्ती पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को शालिक देशको चोकचोकमा बनाउनुपर्ने अभिव्यक्ति दिएकी छिन् ।

हालै पोखरामा आयोजित ‘तमु राष्ट्रिय मुक्ति मोर्चा, नेपाल’को प्रथम राष्ट्रिय भेलालाई सम्बोधन गर्न पोखरा आएकी घर्तीले प्रचण्ड र माओवादीकै कारण जनजातिहरुले आफ्नो अधिकारको लडाईमा सफलता प्राप्त गर्दै गएको बताइन् ।

माओवादीले युद्ध सुरु गर्नु अघि देशैभर जनजातिहरु राज्यको थिचोमिचोमा परेकी उल्लेख गरिन् । गण्डक क्षेत्रका तमुहरु राज्यबाट सँधै किनारा लगाइएको भन्दै उनले कमरेड प्रचण्डकै कारण जनजातिहरु राज्यको मुलधारमा समेटिएको उल्लेख गरेकी थिइन् ।

‘राई, लिम्बु, तामाङ, गुरुङ्, मगर, थारुलगायतका जनजाति राज्यबाट सँधै उपेक्षित थिए’ घर्तीले भनिन् ‘कमरेड प्रचण्डले सुरु गरेको महान जनयुद्धबाट हामीहरुलाई राजनीतिको मुलधारमा ल्याइएको छ ।’

सोही कारण प्रचण्डको योगदानको सम्मानस्वरुप उनको शालिक हरेक चोकमा निर्माण गर्नुपर्ने उनको ठहर छ ।

‘प्रचण्ड सिंगो जनजाति समुदाय र देशकै नेता हो, उहाँको शालिक चोकचोकमा निर्माण गरेर योगदानको कदर गर्न तमु राष्ट्रिय मुक्ति मोर्चालाई आग्रह गर्दछु ।’

Scroll to Top