नयाँलिपिः मुटुको डबल च्याम्बर पेसमेकरको पोखरामा सफल शल्यक्रिया भएको छ ।
त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्य्यन संस्थान महाराजगंज अन्तरगत मनमोहन कार्डियोथोरासिक एण्ड भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका कन्सल्टेन्ट कार्डियोलोजिस्ट डा. सूर्य देवकोटा नेतृत्वको टोलीले पोखराको चरक मेमोरियल हस्पिटलमा सो शल्यकृया सफलतापुर्वक सम्पन्न गरेको हो ।
देवकोटा नेतृत्वको चिकित्सक टोलीमा चरक मेमोरियलका डा एसके जैसवाल, नर्स र प्राविधिकसहित ७ जना शल्यक्रियाका लागि खटेका थिए ।
पोखराको हेमजा घर भएका ६३ वर्षका एक पुरुषको अघिल्लो शुक्रबार सफल शल्यक्रिया गरिएको अस्पतालका प्रबन्ध निर्देशक कपिल पोखरेलले बताए ।
उनका अनुसार मुटुको डबल च्याम्बर पेसमेकर स्थायीरुपमा राखेर सफल शल्यक्रिया गरिएको सम्भवत गण्डकी प्रदेशमै यो पहिलो हो । उकालो हिड्न गाह्राे हुने, रिंगटा लाग्ने, स्वास फेर्न अप्ठेरो जस्तो समस्या भएपछि उनलाई उपचारका लागि परिवारले हस्पिटल लगेका थिए ।
त्यसपछि उनको स्वास्थ्य परिक्षण गर्दा मुटुको प्लस जम्मा ३०-३५ मात्र रहेको मुटुको भल्भमा समस्या देखिएको डा जैसवालले जानकारी दिए । लगतै बिरामीको समस्याका बारेमा डा. देवकोटालाई जानकारी गराएपछि उनी पोखरा आएर मुटुको डबल च्याम्बर पेसमेकरको सफल शल्यक्रिया गरेको जैसवालले जानकारी दिए ।