९ महिला प्रहरीको टिमले लियो नदीपुर प्रहरी पोस्टको जिम्मेवारी

santan ads

नयाँलिपिः पोखराको नदीपुरस्थित अस्थाई प्रहरी पोस्टको नेतृत्व परिवर्तन गरिएको छ ।

२ वर्षअघि पक्की संरचना बनेपछि थप सक्रिय भएको प्रहरीको गतिविधिमा अब भने फरक नेतृत्व देख्न पाइनेछ ।

जिल्ला प्रहरी कार्यालय, कास्कीले आइतबार विशेष कार्यक्रमको आयोजना गरी प्रहरी पोस्टको सम्पूर्ण नेतृत्व महिला प्रहरीलाई सुम्पेको छ ।

प्रहरी सहायक निरीक्षक दिपा आलेको नेतृत्वमा रहेको पोस्टमा सहायक हवल्दार संगिता महर्जन र अन्य जवान रहेका छन् ।

पोस्टको कमाण्ड सुम्पदै जिप्रका कास्कीका प्रमुख एवं प्रमुख उपरीक्षक श्याम बाबु ओलियाले प्रहरीबीच पुरुष वा महिला भन्नेमा कुनै फरक नहुने बताउँदै जिम्मेवारी पुरा गर्न सबै प्रहरी सक्षम भएको बताए ।

कास्कीमा महिला प्रहरीलाई पूर्ण जिम्मेवारी दिएको नदीपुरको पोस्ट दोस्रो हो ।

यसअघि पोखराको संवेदनशील नाका मानिने छोरेपाटन प्रहरी चौकीमा प्रहरी नायब निरीक्षक गीता रानाभाटको नेतृत्वमा १३ जना महिलाले कमाण्ड सम्हाल्न सुरु गरेका थिए ।

महिला प्रहरीलाई कमाण्ड सुम्पेपछि समाजसेवी धर्मराज बरालले पोस्टलाई १ थान स्कुटर हस्तान्तरण गरेका छन् ।

उक्त अवसरमा प्रहरी पोस्ट निर्माणमा प्रमुख भूमिका निभाएकोमा वडाका पूर्वअध्यक्ष रविन्सन प्रजुलगायतलाई सम्मानसमेत गरिएको छ ।

Scroll to Top