नयाँलिपिः पोखरा महानगरपालिका देशभरका महानगरपालिकाहरुको कार्यसम्पादन मूल्यांकन (लिजा)मा उत्कृष्ट बन्न सफल भएको छ ।
महानगरका मेयर धजराज आचार्यले फेसबुकमार्फत भर्खरै पोखरा महानगर ९३.५ अंककासाथ लिसा (स्थानीय तह संस्थागत क्षमता स्व-मूल्यांकन) अन्तरगत देशभर उत्कृष्ट भएको जनाएका छन् ।
संघीय मामिला तथा प्रशासन मन्त्रालयको लिसाले आर्थिक वर्ष ०८०-८१ को स्वमूल्यांकन विषय क्षेत्रहरुलाई आधार मानेर सयमा उक्त नम्बर दिएको हो ।
तर उत्कृष्टको सूचीमा पोखरासँगै ललितपुर पनि समान अंककासाथ ललितपुर महानगरपालिका पनि रहेको छ ।
यस विषयमा मन्त्रालयका लिसा शाखाका अधिकृत हरिप्रसाद पौडेलले स्थानीय निकायले आफैले अघिल्लो कार्यकाललाई तुलना गर्दै हालको काम दाँजेर आफैले आफैलाई नम्बर दिने परिपाटी रहेको बताए ।
‘समग्रमा उहाँहरुले आफैलाई तुलना गरेर मार्किङ् गर्नुहुन्छ’ पौडेलले भने ‘यो स्वमूल्यांकनमात्र हो, राष्ट्रियस्तरको नतीजा होइन ।’ मन्त्रालयले विभिन्न मापदण्ड राखेर गर्ने मूल्यांकनको नतीजा भने लिसाको तुलनामा आकाश जमिन फरक हुनसक्ने पौडेलले बताएका छन् ।
‘प्रष्ट भन्दा आफैले आफैलाई नम्बर चढाएर पठाउने हो, अन्य कुनै निकायले गरेको मूल्यांकन होइन’ पौडेलले भनेका छन् ।
मन्त्रालयका सहसचिव कालीप्रसाद पराजुलीले भने स्थानीय निकायले नम्बर पठाएपनि त्यसको मुल्यांकन संघीय मामिला महाशाखाबाट जाँचबुझ हुने बताए ।
‘यद्यपि, पहिलो मूल्यांकन स्थानीय सरकारका प्रमुखहरुले नै स्वयं गर्नुहुन्छ’ पराजुलीले प्रष्ट्याए ।
यता, कास्कीकै माछापुच्छ्रे गाउँपालिकाले भने पोखरा महानगरलाई जितेको छ । माछापुच्छ्रेले ९४ अंक प्राप्त गर्दै पोखरासँगै अन्य ३ गाउँपालिकाभन्दा उत्कृष्ट स्थान पाएको छ ।
त्यस्तै, रुपाको ९०.५, मादीको ८८.५ र अन्नपूर्णको ८१.२७ अंक रहेको छ ।