नयाँलिपिः अमेरिकाले नेपाल लगायत विभिन्न देशका ११९ जना अवैध आप्रवासीलाई पनामा पठाएको पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले पुष्टि गरेका छन्।
ट्रम्प प्रशासन र पनामाबीच भएको सहमति अनुसार अमेरिकाबाट निष्कासित अवैध आप्रवासीको पहिलो खेप बुधबार आफनो देशमा अवतरण गरेको पनामाका राष्ट्रपति जोसे राउल मुलिनोले बताएका हुन् ।
पत्रकार सम्मेलनमा मुलिनोले नेपाल, अफगानिस्तान, चीन, भारत, इरान, पाकिस्तान, श्रीलंका, तुर्किए, उजबेकिस्तान र भिएतनामका अवैध आप्रवासी बोकेको जहाज बुधबार १२ फेब्रुअरीमा आफनो देश आइपुगेको बताए ।
मुलिनोले अमेरिकाबाट निष्कासित अवैध आप्रवासीको थप दुई वटा उडान चाँडै पनामा आइपुग्ने समेत जानकारी गराएका छन् । अमेरिकाले तीन वटा उडानमा कुल ३६० जना अवैध आप्रवासीलाई पनामा पठाउने उनले जानकारी दिए ।
एनबीसी न्यूजका अनुसार अमेरिकाबाट यसरी पठाइएका आप्रवासीलाई उनीहरूको सम्बन्धित देश फिर्ता पठाउनुअघि डेरिएन जंगल नजिकैको शरणार्थी शिविरमा राखिने जनाइएको छ ।
अमेरिकी गृह मन्त्रालयले भने यसबारे राखिएको जिज्ञासामा तत्काल कुनै प्रतिक्रिया नजनाएको रोयटर्सले उल्लेख गरेको छ ।
एशोसियट प्रेसले राखेको भिडियोमा आप्रवासीहरुलाई हतकडीसहित एयर पनामाको विमानमा चढाइँदै गरेको देख्न सकिन्छ ।
– एजेन्सीकाे सहयाेगमा