दिपक के श्रेष्ठ
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले आज पोखरामा रक्तदान गरी स्वास्थ्य अभियानको सुरुवात गरेका छन् ।
‘नसर्ने रोगहरुको पहिचानका लागि एकमहिने अभियान’ उद्घाटन गर्दै मन्त्री पौडेलले रोगको निरोधात्मक अभियानलाई सरकारले प्राथमिकतामा राखेको बताए ।
निरोधात्मक अभियान प्रभावकारी नबनाए देशले उपचार सेवालाई धान्न नसक्ने उल्लेख गर्दै उनले निरोधात्मक उपचारलाई रणनीतिका रुपमा अघि बढाउने बताएका छन् ।
‘निरोधात्मक उपचारलाई प्रभावकारीपमा नबढाए आम जनमानसले उपचार खर्च धान्न सक्ने अवस्था रहँदैन’ पौडेलले भने ।
नेपालमा हुने मृत्युको तीन चौथाइ कारण नसर्ने रोग भएको टिप्पणी गर्दै पौडेलले सेवा लिन आउनेहरुलाई स्रोत, साधन भ्याएसम्म व्यवस्थित रुपमा सेवा प्रवाह गर्न आग्रह गरेका छन् ।
मन्त्री पौडेलले सो अवसरमा पोखरा २१ को कृष्ति स्वास्थ्य चौकीलाई ग्रामीण अल्ट्रासाउन्ड मेसिन हस्तान्तरणसमेत गरेका छन् ।
अभियानबाट मधुमेह, रक्तचाप र मृर्गौलाका जाँचहरु बेला बेलामा गरी रोगबारे जानकारी पाएपछि उपचार गर्न र रोग लाग्न नदिन सहयोग पुग्ने उनको विश्वास छ ।
‘३० वर्षभन्दा माथिका एक करोड ३० लाख नेपालीलाई यो अभियानमा सहभागी गराउने सरकारको लक्ष्य छ’ उनले सुनाए ।
साथै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्रदेश र स्थानीय सरकारहरुसँग मिलेर सुरु गरेको निःशुल्क स्क्रिनिङ अभियान सफल पार्नसमेत उनले आग्रह गरेका छन् ।